विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः शिक्षामन्त्री पुन

३ कार्तिक २०८२, सोमबार १७:५०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् ।

सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने तर्क गरेका हुन् । त्यसका लागि कानुन संशोधन गर्न हाल असम्भव रहेपनि विश्वविद्यालय सुधारको कार्यक्रमलाई अघि बढाउने तयारी भएको उनको भनाइ छ ।

मन्त्री पुनले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नभइ बोर्ड अफ ट्रस्टी गठन गरेर सोही बोर्डले निष्पक्ष रूपमा कुलपति चयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । त्यस्तै मन्त्री पुनले जेनजी आन्दोलनका क्रममा सीटीईभीटी अन्तर्गत भएका परीक्षाको केही उत्तरपुस्तुका जलेकाले पुनस् परीक्षा लिने निर्णय भएको बताए ।

पुनः परीक्षा गर्न १ करोड ७५ लाख खर्च लाग्ने भएकाले त्यसको व्यवस्था भइसकेको उनको भनाइ छ । २०६९ सालदेखि सीटीईभीटी अन्तर्गत सम्बन्धन दिने काम रोकिएको अवस्थामा अब दुई महिनाभित्र छानबिन गरेर सम्बन्धनको टुङ्गो लगाइने पुनले बताए ।

मन्त्री पुनले विद्यालय शिक्षकहरूको सरुवाका विषयमा धेरै गुनासो आएकाले सरुवा सम्बन्धी कार्यविधिलाई संशोधन गर्ने तयारी भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*