डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?

४ कार्तिक २०८२, मंगलवार ०९:५७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो ।

प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला ६ उद्योगको विद्युत् लाइन काटेको हो ।

प्राधिकरणका अनुसार जगदम्बा स्टीलको १ अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्ट ५० करोड ८५ लाख रुपैयाँ विद्युत बक्यौता रहेको छ ।

त्यस्तै, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजको ४४ करोड ८४ लाख रुपैयाँ, त्रिवेणी स्पिनिङ मिल्सको ३२ करोड १० लाख रुपैयाँ गरी कुल बक्यौता रकम करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको जानकारी दिएका छन् । किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने उनले बताए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिद्युत बक्यौता तिर्न नमानेका उद्योगहरुलाई राहत प्रदान गरेको छ । नेपाल बिद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता तिर्न विभिन्न समयमा उद्योगीहरुलाई आग्रह गर्नुका साथै पटक–पटक पत्र समेत पठाएका थिए ।

बर्तमान सुशिला कार्की नेतृत्वको सरकारमा उर्जामन्त्रीको रुपमा कुलमान घिसिङको उदय भएसँगै उनको पहिलो निर्णय नै विद्युत महशुल नतिरेका उद्योगहरुको बक्यौता उठाउने रह्यो । सोही बमोजिम नेपाल विद्युत प्राधिकरणले कात्तिक २ गतेसम्म सबै कम्पनीहरुलाई विद्युत बक्यौता बुझाउन सूचना प्रकाशित गरिएको थियो ।

कतिपय कम्पनीहरुले हालसम्म विद्युत बक्यौता तिरीसकेका छन् भने कतिपयले किस्ताबन्दीमा बक्यौता तिरीरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*