राजनीतिक दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

४ कार्तिक २०८२, मंगलवार १०:४८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । उनले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट हुन लागेको यो औपचारिक छलफल हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि तय भएको छ ।

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेतालाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो । सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने घोषणा गरेको छ ।

यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दलका नेतासँग गरेको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति थियो । तर, सरकारका तर्फबाट दलहरूसँग कुनै संवाद नगरेको भनेर आलोचना भइरहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*