प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार, गुप्ता-गौतमको शपथसँगै १० सदस्यीय सरकार गठन
९ कार्तिक २०८२, आईतवार १५:२८

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आइतबार दुई मन्त्री थपिएपछि १० सदस्यीय बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री र डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भए पनि विवादका कारण उनीहरुको शपथ रोकिएको थियो।
प्रधानमन्त्री कार्की भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनले भदौ ३० र असोज ६ गते आफ्नो मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्।













