एभरेष्ट बैंककी प्रमुख शेयरधनी अप्ठ्यारोमा, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौँ । एभरेष्ट बैंककी प्रमुख संस्थापक शेयरधनी प्रतिमा श्रेष्ठले लाभांश नपाउने भएकी छिन् । नेपाल राष्ट्र बैंकले बैंकमा उनको स्वामित्व नियामक सीमा भन्दा माथि पुगेको भन्दै तोकिएको सीमा भित्र नल्याएसम्म लाभांश वितरण नगर्न निर्देशन दिएको हो।
असोज ८ गते राष्ट्र बैंकले बैंकलाई पठाएको पत्रमा उल्लेख भएअनुसार बैंकको हालको विवरणमा प्रतिमा श्रेष्ठको शेयर स्वामित्व २३.९६ प्रतिशत पुगेको देखिएको छ। यसअघि, आर्थिक वर्ष २०८०/८१ मा उनको स्वामित्व १४.७७ प्रतिशत मात्र थियो। उनका पिताको नाममा रहेको ९.१८ प्रतिशत शेयर उनको नाममा आएपछि कुल स्वामित्व बढेको हो। यससँगै उनी बैंककी सबैभन्दा ठूलो संस्थापक शेयरधनी बनेकी छन्।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार कुनै पनि व्यक्तिले एकै बैंक वा वित्तीय संस्थाको संस्थापक शेयरमा चुक्ता पुँजीको बढीमा १५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था छ। अन्य बैंक वा वित्तीय संस्थामा लगानी गर्दा यो सीमा बढीमा १ प्रतिशतमा सीमित गरिएको छ।
उक्त सीमा नाघेको अवस्थामा ती शेयरधनीले आफ्नो शेयर तोकिएको दायराभित्र नल्याएसम्म बैंकले लाभांश वितरण गर्न नपाउने नियम रहेको छ। सोही आधारमा राष्ट्र बैंकले एभरेष्ट बैंकलाई प्रतिमा श्रेष्ठको नाममा रहेको लाभांश र बोनस शेयर रोक्का राख्न निर्देशन दिएको हो।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ‘चुक्ता पुँजीको २३.९६ प्रतिशत संस्थापक शेयरमा लगानी रहेको शेयरधनी श्री प्रतिमा श्रेष्ठलाई उल्लिखित व्यवस्था बमोजिम शेयर लगानी तोकिएको सीमा भित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन ।’














