सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते
१० कार्तिक २०८२, सोमबार १२:२९

काठमाडौं । राप्ती राजमार्गमा पर्ने सल्यानको छत्रेश्वरी–६ शिवगुफा नजिकै गएराति करीब १२ बजे फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
नेपालगञ्जदेखि रुकुम पश्चिम जाँदै गरेको लु. प्र ०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। गाडीमा कुल १२ जना यात्रु सवार रहेकोमा पाँच जना घाइते भएका हुन्।
घाइते हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ का ४० वर्षीय डिल्लीबहादर खत्री, ५२ वर्षीय भीमबहादुर डाँगी, सानीभेरी–१ का ४८ वर्षीय वीरबहादुर खड्का र उनकी श्रीमती ४८ वर्षीया धनसरी खड्का र सल्यान दार्मा गाउँपालिका–२ का दुई वर्षीय जनक देवकोटा रहेका छन्।
घाइते सबैको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।













