घरजग्गा कारोबारमा गिरावट, राजश्व संकलनमा पनि कमी

१० कार्तिक २०८२, सोमबार १३:२६

काठमाडौँ। राजधानीसहित देशभर घरजग्गा कारोबारमा लगातार घटबढ भइरहेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोज महिनामा कारोबार गत महिनाको तुलनामा घटेको देखिएको छ।

विभागका विवरणअनुसार असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय ५३ लिखत पारित भएका छन्। यो संख्या भदौ महिनाको २७ हजार ४ सय ९४ लिखत र गत वर्षको असोज महिनाको ३० हजार ५ सय २७ लिखतको तुलनामा कम हो।

कारोबार घटेसँगै राजश्व संकलन पनि घटेको छ। असोजमा घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड १८ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ। भदौ महिनामा यो रकम ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ र साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ संकलन भएको थियो।

असारमा भने घरजग्गा कारोबारमा ठूलो वृद्धि देखिँदै ५५ हजार ५ सय २४ लिखत पारित हुँदा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो।

काठमाडौंभित्रका विभिन्न ठाउंमा पनि कारोबारमा भिन्नता देखिएको छ। डिल्लीबजारबाट १५०, चाबहिलबाट ३ सय ७७, कलंकीबाट ९, साँखुबाट ३ सय ३०, मनमैजुबाट १५३ र टोखाबाट १२४ लिखत पारित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*