३० अर्बको भटमास तेल आयात, ३० अर्बकै निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यात ८९.६४ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । यो वृद्धिको मुख्य कारण भटमास र सूर्यमुखी तेलको पुनःनिर्यात हो, जसले समग्र निर्यातलाई उल्लेखनीय रूपमा माथि उठाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्र ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँको भटमासको कच्चा तेल आयात गरिएको छ । सोही अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको तयारी भटमास तेल पुनःनिर्यात गरिएको छ । यसरी कच्चा तेल आयात गरी प्रशोधनपछि निर्यात गर्ने प्रवृत्तिले निर्यात वृद्धिमा ठूलो योगदान पु-याएको देखिन्छ ।
त्यस्तै, सोही अवधिमा चार अर्ब ३३ करोड २८ लाख रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ भने दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको विभागले जनाएको छ ।
यद्यपि निर्यात बढे पनि समग्र वैदेशिक व्यापारघाटा भने अझै बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापारघाटा गत वर्षको तुलनामा १२ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार, सो अवधिमा कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जसमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको आयात र ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँको निर्यात भएको हो ।













