बजाज चेतक इलेक्ट्रिकको नयाँ मोडल: १५० किलोमिटर रेन्ज र नयाँ डिजाइन फिचरसहित तयार

काठमाडौं । भारतीय बजारमा लोकप्रिय बजाज चेतक इलेक्ट्रिक स्कुटरको अपग्रेडेड भर्सन सार्वजनिक हुनुअघि नै परीक्षणको क्रममा देखिएको छ। क्यामोफ्लाजले ढाकिएको स्कुटरको स्पाइड फुटेजले यसको भविष्यको डिजाइन र नयाँ विशेषताहरूको झलक दिएको छ।
नयाँ मोडलले पुरानो सिल्हूट कायम राख्दै, पछाडिको एलईडी टेल लाइट, ब्रेक लाइट र टर्न सिग्नललाई एकीकृत युनिटको रूपमा नयाँ डिजाइनमा ल्याएको छ। नम्बर प्लेट होल्डर र ‘टायर हगर’ जस्ता नयाँ फिचर थपिएका छन् भने चार्जिङ पोर्टको स्थान परिवर्तन हुन सक्ने देखिन्छ।
साइड बडी प्यानलहरू र पछाडिको सिट पनि अपडेट गरिएको छ। अगाडिको एलईडी हेडलाइट र डीआरएलहरू अझै वर्तमान मोडलसँग मिल्दोजुल्दो छन्, तर हाउजिङमा ‘चेतक’ शब्द स्पष्ट देखिने गरी परिवर्तन गरिएको छ। टर्न इन्डिकेटरहरू ह्यान्डलबारमा सारिएका छन् र स्विचगियरहरू पनि नयाँ डिजाइनमा आएका छन्।
सस्पेन्सनमा नयाँ मोडलले परम्परागत ट्विन टेलिस्कोपिक फोर्क अगाडि र ट्विन शक पछाडि प्रयोग गर्न सक्ने अनुमान गरिएको छ। पावरट्रेनमा नयाँ ब्याट्री प्याक जडान हुने सम्भावना छ, जसले पूर्ण चार्जमा १५० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने अपेक्षा गरिएको छ।













