स्पाइसजेट र हिमालयन एयरलाइन्स काठमाडौँमा अवतरण हुन सकेन, आकाशमै फन्को
११ कार्तिक २०८२, मंगलवार १३:२६

काठमाडौँ । काठमाडौंमा खराब मौसमका कारण आज आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। अहिले सिमसिमे पानी परेको र आकाश खुलेको नभएको कारण दुईवटा अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा अवतरण गर्न सकेका छैनन्।
चीनको ल्हासाबाट आएको हिमालयन एयरलाइन्सको जहाज र भारतको दिल्लीबाट आएको स्पाइसजेट जहाज आकाशमा फन्को मारीरहेको बताइएको छ। भिजिबिलिटी कमजोर हुँदा अवतरणमा समस्या देखिएको छ।
यस्तै, आन्तरिक उडान पनि प्रभावित भएका छन्। केही जहाज ढिलो र सहज रुपमा अवतरण गर्न सकिरहेका छैनन्। विमानस्थल प्रशासनले यात्रुहरूलाई धैर्य गर्न र आवश्यक सूचना नियमित रूपमा लिन अनुरोध गरेको छ।














