बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयरलाई मार्जिन लोनको योग्य सूचीबाट हटाउदै

काठमाडौं । हुलदंगाको बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्रै रहेको र कम्पनी जोखिममा रहेको भन्दै बैंकहरुले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ ।
नेप्सेले प्रत्येक बर्ष मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम सार्वजनिक गर्ने गर्दछ । जसअनुसार नेपाल पुनर्बीमा कम्पनी सहित १ सय २ कम्पनीको शेयर धितो राखेर ऋण पाउन योग्य रहेको थियो । तर जेनजी आन्दोलनपछि नेपाल पुनर्बीमा कम्पनीमा मात्रै हुलदंगा बीमा रहेको सूचना बाहिरिएपछि बैंकहरुले कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउने तयारी गर्न लागेको हो ।
कुमारी बैंक लिमिटेडले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, अन्य बैंकहरुले पनि यस कम्पनीको रिक्स फयाक्टरलाई हेरेर मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउने तयारी गरेको बुझिएको छ ।
कुमारी बैंकले भने औपचारिक रुपमा नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर धितो राखेर नयाँ मार्जिन लोन प्रवाह नहुने बताइसकेको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले नै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको नाम मार्जिन कारोबारको लागि योग्य कम्पनीको रुपमा सार्वजनिक गर्ने गरेको छ। यो ब्रोकरले दिने मार्जिन लोनको हकमा लागु हुन्छ।
बैंकहरुले भने विभिन्न मापदण्डको आधारमा मार्जिन लोनको लागि आफ्नै सूची तयार पार्ने गरेका छन्। जुन सूचीलाई बजारको अवस्था, कम्पनीको अवस्था लगायतलाई विश्लेषण गरि बैंकहरुले समय समयमा परिमार्जन गर्ने गर्दछन्। नेपाल पुनर्बीमा कम्पनीको हालको यस अवस्थालाई देखेर नै बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको मार्जिन लिष्टमार्फत आउट गर्न लागेका हुन्।
मार्जिन लोन सुविधा जुनसुकै कम्पनीको सेयर खरिदमा पाइँदैन । मार्जिन कारोबार सम्बन्धी निर्देशिकाले नै यसबारे स्पष्ट पारेको छ । जसअनुसार विगतका दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिएका, कम्तीमा १० हजार सेयरधनी रहेका कम्पनीको सेयर खरिदमा मात्रै यो सुविधा पाइन्छ ।
कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नभएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गरेका कम्पनीमा मार्जिन कारोबार सुविधा दिन सक्ने व्यवस्था छ ।
नेप्सेले बर्सेनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची नै सार्वजनिक गर्ने गरेको छ । बैंकबाट सेयर धितोमा लिइने कर्जा पनि यीनै कम्पनीको सेयर धितोमा पाइन्छ । नेप्सेले अनुमति दिएपनि कम्पनीको अवस्थाको कारण बैंकहरुले मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ।













