६२.२९ अकंले बढ्यो शेयर बजारः लगानीकर्ता उत्साहित, हरियाली दिगो कि चलखेल ?

११ कार्तिक २०८२, मंगलवार १५:०७

काठमाडौँ । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। अघिल्लो दुई कारोबारको दिन सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा छ । बजारमा आएको यस सुधारसँगै लगानीकर्ता उत्साहित भएका छन्।

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय शेयर बजारप्रति सकारात्मक बन्दै गएको देखिनुका साथै लगानी वातावरण नै अनुकूल बनेको आभास लगानीकर्ताले पाएका छन्। नेपाल राष्ट्र बैंकले समेत शेयर बजारलाई बाधा पु¥याउने नीति फुकाउँदै लगेको छ। यसले लगानीकर्ताको मनोबल बढाएको छ र बजारप्रति विश्वास थपिएको देखिन्छ। सुधारको यो लहरले नयाँ लगानीकर्ता भित्र्याएको मात्र नभई दीर्घकालीन लगानीकर्तालाई पनि उत्साहित बनाएको छ।

तर, केही लगानीकर्ताहरु भने यस हरियालीलाई सतही र अस्थायी रुपमा लिएका छन्। बजारलाई प्रत्यक्ष असर गर्ने राजनीति हाल अस्थिर दिशामा रहेको हुँदा सुधारलाई माफियाहरुको चलखेलको रुपमा बुझ्नेहरूको संख्या बढ्दो छ। जेन जी आन्दोलनपछि बनेको सरकारले अपेक्षित सुधारका काम गर्न नसक्दा विरोधका स्वर सुनिन थालेका छन्। यसैबीच, संसद पुनःस्थापना गर्नुपर्ने माग पनि बढ्दो छ, जसका लागि सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ।

विश्लेषकहरूको चेतावनी अनुसार अस्थिर राजनीतिक परिस्थितिमा बजारमा ह्वात्तै आएको सुधार सतही हुनसक्छ । माफिया वा अन्य कसैको चलखेलमा आधारित लगानी गर्दा लगानीकर्ता बालुवामा पानी झै डुब्न सक्छन्। यसैले, लगानी गर्दा सतर्कता अपनाउनु आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अकंले बढेर २५७१.३४ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको ४.४७ प्रतिशत, फाइनान्स समूहको ३.१४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*