चक्रवात ‘मोन्था’ को प्रभाव: देशभर तीन दिनसम्म बाढी र हिमपातको जोखिम

११ कार्तिक २०८२, मंगलवार १६:४४

काठमाडौँ । यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको विशेष सूचना अनुसार उक्त अवधिमा बागमती, मधेश र कोशी प्रदेशका स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च देखिएको छ।

विभागका अनुसार विशेषगरी बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा पर्ने स–साना नदीहरूमा आकस्मिक बाढी आउने खतरा रहेको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ आज राति भारतको आन्ध्र प्रदेशतिर प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम सर्दै नेपालको मध्य भूभाग नजिक आइपुग्ने विभागले जनाएको छ। सो प्रणाली बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसममा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

विभागका अनुसार यस अवधिमा मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी समेत दिइएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी भागमा मध्यम हिमपात हुन सक्ने देखिएको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावनासमेत विभागले जनाएको छ।

हालको मौसमीय विश्लेषण अनुसार बागमती, कमला, कोशी र कन्काई नदीहरू तथा ती नदीका सहायक धाराहरूमा बहाव उल्लेख्य बढ्न सक्ने र सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ। साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना भएकाले स्थानीयवासी, कृषक र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*