केवाइसी भ्यानको नाम फेरेर आयात गर्नेहरूको चाल असफल, अदालतले ‘नियोसिया’ ईभीमा प्रतिबन्ध

११ कार्तिक २०८२, मंगलवार १८:०४

काठमाडौं । पाटन उच्च अदालतले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान नेपालमा आयात र बिक्री वितरण नगर्न आदेश दिएको छ। अदालतले मंगलबार जारी गरेको आदेशमा भनिएको छ, ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नु।’

अदालतको यो आदेशसँगै पहिलेको फैसला उल्लङ्घन गर्दै नयाँ नाममा त्यही मोडेलका गाडी भित्र्याउने प्रयास कानुनी संकटमा परेको छ। यसअघि २०८२ साउन १५ गते अदालतले स्पष्ट रूपमा सीजी मोटर्स बाहेक अन्य कुनै कम्पनीले केवाइसी ब्रान्डका गाडी नेपालमा आयात गर्न नपाउने आदेश दिएको थियो। तर सो आदेशलाई बेवास्ता गर्दै, त्यही गाडीलाई ‘नियोसियारस्टार भी ईभी’ नाममा पुनः आयात गरिएको थियो।

अदालतको आदेश छलेर गरिएको यो कदमले देशको व्यवसायिक जगतमा ठूलो विवाद र असन्तोष पैदा गरेको थियो। अनुसन्धानका क्रममा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ नामक कम्पनीका सञ्चालकहरूले नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ दर्ता गरी सोही गाडी आयात गरेको तथ्य बाहिरिएको छ। चकित पार्ने कुरा के भने यी दुवै कम्पनीका प्रमुख व्यक्ति उही समूहका रहेको प्रमाण खुलेको छ, जसले अदालतको आदेशलाई बेवास्ता गर्दै नाम मात्र फेरेर उही मोडेलका सवारी भित्र्याउने प्रयास गरेका थिए।

भन्सार प्रशासन र सम्बन्धित निकायका केही कर्मचारीले समेत यस विषयमा आँखा चिम्लिएको आरोप लाग्दै आएको छ। कानुनी आदेश उल्लङ्घन गरी गरिएको यसरी गाडी आयातले बजारमा आएको गाडी खरिदकर्ताहरू भविष्यमा कानुनी विवाद र जोखिममा पर्ने अवस्था देखिएको छ।

केवाइसी ब्रान्डका गाडी नेपालमा आधिकारिक रूपमा सीजी मोटर्सले आयात गर्दै आएको हो। कम्पनीले देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गर्दै स्वच्छ, किफायती र दिगो यात्राको सुरुवात गरेको थियो। तर पछिल्ला वर्षहरूमा सो ब्रान्डको आधिकारिक अधिकार कब्जा गर्न खोज्ने खेल, विवाद र कानुनी टकराव तीव्र बनेका छन्।

केवाइसी ब्रान्डको उत्पादनकर्ता कम्पनी चीनको चोंगकुइंगमा रहेको छ, जसले सोही मोडेलको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ। मोडेल, डिजाइन र प्रविधि उस्तै भए पनि नाम मात्र परिवर्तन गरिनु बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाउने विषय बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*