आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ आम्दानी गर्ने सफल भएको हो ।
कम्पनीले गरेको आम्दानी अघिल्लो वर्षको तुलनामा ७८.७५ प्रतिशत अर्थात् ४१ करोड ९० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले ५३ करोड २० लाख रुपैयाँको आम्दानी गरेको थियो । कम्पनी सन् २०२३ मा ४८ करोड ८० लाख र सुन २०२२ मा ५२ करोड १० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ ।
त्यस्तै, कम्पनीको कुल व्यवस्थापित पोर्टफोलियो सन् २०२३ मा २ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा २०२५ मा उल्लेखनीय वृद्धि हुँदै ८ अर्ब १८ करोेड १० लाख रुपैयाँ पुगेको छ । सन् २०२४ मा पनि कुल व्यवस्थापित पोर्टफोलियो ३ अर्ब ४६ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
सन् २०२५ मा कम्पनीको औसत व्यवस्थापित सम्पत्तिमा प्रतिफल ३.६५ प्रतिशत पुगेको छ । सन् २०२४ मा उक्त प्रतिफल ३.१२ प्रतिशत रहेको थियो । साथै, कम्पनीको सकल गैर–सम्पादित ऋण (एनपीए) ३.०८ प्रतिशतमा सीमित रहनु, सावधानीपूर्वक जोखिम व्यवस्थापन र सन्तुलित क्रेडिट नीतिको परिणाम हो । २०२३ मा ५.९८ प्रतिशत रहेको एनपीएलाई कम्पनीले दुई वर्षमै घटाउन सफल भएको देखिन्छ ।

यता, शुद्ध गैर–सम्पादित ऋण ०.४८ प्रतिशतमा झरेको छ, जसले कम्पनीको ऋण गुणस्तरमा सुधार भएको संकेत गर्छ । शुद्ध एनपीए र शुद्ध सम्पत्तिको अनुपात पनि २.५६ प्रतिशतमा रहेको छ ।
कम्पनीको गियरिङ अनुपात (कुल ऋण र इक्विटीको अनुपात) २०२३ मा १.१७ गुणा रहेकोमा २०२५ मा ४.१३ गुणासम्म पुगेको छ । कम्पनीले आफ्नो पूँजी संरचना सन्तुलित रूपमा विस्तार गरेको देखिएको छ ।
कम्पनीको ऋण पोर्टफोलियो पछिल्ला वर्षहरूमा क्रमिक रूपमा मोबाइल फोन वित्तीयकरण तर्फ केन्द्रित हुँदै गएको छ । २०२४ को मध्य जुलाईसम्म यो खण्डले कम्पनीको कुल पोर्टफोलियोको करिब २३ प्रतिशत हिस्सा ओगटेको थियो भने, २०२५ को मध्य जुलाईसम्म आइपुग्दा यसले करिब २६ प्रतिशत हिस्सा लिएको छ ।
यसैबीच, कम्पनीको दुई पांग्रे सवारी र निजी सवारीसाधन खण्डमा भने स्थायित्व कायम छ । दुवै क्षेत्रमा कम्पनीको लगानी अनुपात क्रमशः ३८ प्रतिशत र २८ प्रतिशत आसपासमा स्थिर रहेको छ । यसले कम्पनीले आफ्नो परम्परागत बजार (जस्तै बजाज मोटरसाइकल र कार वित्तीयकरण) मा निरन्तर सन्तुलन कायम राखेको देखिएको छ ।
आर्थिक क्षेत्रको मजबुत आधार निर्माणका लागि योगदान दिइरहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड पछिल्ला वर्षहरूमा आफ्नो व्यवसायिक क्षमतामा उल्लेखनीय सुधार गर्दै अघि बढिरहेको छ । हुलास समूहअन्तर्गतको यो संस्था आज देशको हायर पर्चेज वित्तीय क्षेत्रमा एक सशक्त र विश्वासिलो नाम बनेको छ ।
सन् २०१२ मा ‘हुलास इन्भेष्टमेन्ट प्रा.लि.’का रूपमा स्थापित भएको यो कम्पनीले समयसँगै आफ्नो संरचना र परिचालन क्षमतामा रुपान्तरण गर्दै २०२१ जुलाई १२ मा सार्वजनिक लिमिटेड कम्पनीमा परिणत भएपछि ‘हुलास फिन सर्भ लिमिटेड’ नाम ग्रहण ग¥यो । पछि, नेपाल राष्ट्र बैंकका नयाँ नियामक मापदण्डहरू अनुरूप २०२३ नोभेम्बरमा यस कम्पनीको नाम फेरिएर ‘हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड’ राखिएको हो ।
कम्पनीको पृष्ठभूमि नेपालकै विख्यात गोल्छा अर्गनाइजेसनसँग सम्बन्धित छ, जसले देशको औद्योगिक र व्यापारिक क्षेत्रमा आठ दशकभन्दा बढी समयदेखि योगदान दिँदै आएको छ । गोल्छा समूहको अनुभव, विश्वसनीयता र व्यवस्थापन दक्षताले हुलास फिनसर्भ हायर पर्चेजलाई थप सुदृढ बनाएको छ ।
कम्पनीको मुख्य प्रवद्र्धक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले करिब ८२ प्रतिशत शेयर स्वामित्व रहेको छ, जसले नेपालमा बजाज मोटरसाइकलका आधिकारिक वितरकको रूपमा ख्याति कमाएको छ । बाँकी करिब १८ प्रतिशत शेयर ४५ जना अन्य शेयरधनीहरूले लगानी गरेका छन्, जसमा हुलास अटो क्राफ्ट प्रा.लि. (बजाज ब्रान्डका दुई पांग्रे र तीन पांग्रे सवारीसाधनहरूको असेंबली इकाइ) को करिब ५ प्रतिशत र हिम इलेक्ट्रोनिक्स प्रा.लि. (सामसुङ मोबाइल र गृह उपकरणका आयातक तथा वितरक) को करिब २ प्रतिशत हिस्सा उल्लेखनीय छ । कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा स्वयं पनि करिब ५ प्रतिशत शेयरधनी हुन् ।
इक्रा नेपालले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको दीर्घकालीन ऋण मूल्यांकनलाई एल त्रिपल बि माइनस र अल्पकालीन ऋण मूल्यांकनलाई ए तीनमा उन्नति गरेको छ । कम्पनीको हालको दीर्घकालीन ऋण सीमा ८ अर्ब ३ करोड रुपैयाँ (जसमा प्रस्तावित १ अर्ब ९८ करोड रुपैयाँ समेत समावेश छ) र अल्पकालीन ऋण सीमा ५२ करोड रुपैयाँ रहेको छ । यससँगै कम्पनीको कुल मूल्यांकनयोग्य ऋण सीमा ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।














