डडेल्धुरामा सामुदायिक वनको रकम हिनामिना प्रकरणः अध्यक्ष मडैविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

१२ कार्तिक २०८२, बुधबार १६:१०

काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैविरूद्ध १८ लाख १५ हजार रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा मडैविरूद्ध आरोपपत्र दर्ता गरेको हो। मडैले सचिव र कोषाध्यक्षको जानकारीविना समितिको माइन्यूट नक्कली बनाई चेकमा किर्ते हस्ताक्षर गरेर सामुदायिक वनको कोषमा रहेको रकम दुरूपयोग गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आयोगको अनुसन्धानअनुसार मडैले २०७८ साल मंसिर १० गतेको माइन्यूटको नक्कली प्रतिलिपि तयार गरी विभिन्न मितिमा सात वटा चेकमार्फत अत्तरिया, धनगढी, चौमाला र महेन्द्रनगर शाखाबाट जम्मा २० लाख १५ हजार रुपैयाँ झिकेका थिए। समितिले सो घटना पत्ता लगाएपछि उनले २ लाख रुपैयाँ मात्र फिर्ता गरी बाँकी १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको खुलेको अख्तियारले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुराको पत्र र स्थलगत मुचुल्कासहित प्राप्त प्रमाण र फरेन्सिक परीक्षणले समेत मडैले किर्ते सहिछाप गरी रकम निकालेको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले मडैविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर देखिएकाले सोही ऐनअनुसार कैद सजाय र बिगो बराबरको जरिवाना मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*