मोन्था चक्रवातको प्रभाव नेपालमाः शुक्रबार भारी वर्षा हुने

काठमाडौं । आगामी २४ घण्टासम्म देशका धेरैजसो भागमा आकाश बदली रहने र विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराईका क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने र अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ। यी प्रदेशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ। मौसमी विश्लेषणअनुसार हाल बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा परेको छ। साथै पश्चिमी हावा र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि देखिएको विभागले जनाएको छ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले भोलि शुक्रबार कोशी, मधेस र बागमती प्रदेशहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। शनिबार पनि यही क्रम जारी रहने र कोशी, बागमती, कमला, कन्काई, पूर्व राप्ती र यिनका सहायक नदीहरूको बहाब उल्लेख्य बढ्न सक्ने जनाएको छ।













