कोरियाको बुसानमा ट्रम्प–सि बीचको त्यो भेट, जहाँ सिलाई भनियो, महान देशका महान नेता

काठमाडौं । व्यापार युद्ध गरिरहेको अमेरिका र चीनका बीचमा आज ऐतिहासिक वार्ता सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट करिब ४०० किमी दुरीमा रहेको बुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा ऐतिहासिक वार्ता सम्पन्न भएको हो ।
वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सिलाई महान देशको महान नेता भन्दै सम्बोधन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै, राष्ट्रपति सिले पनि अमेरिकी समकक्षीलाई युद्ध रोक्न खेलेको भूमिका प्रसशा गरेका थिए ।

रोयटर्सका अनुसार चीन र अमेरिकाका बीचमा विश्वकै दुर्लभ धातु, करका दर लगायतका बिषयमा महत्वपूर्ण सहमति भएको छ । जसमा आगामी अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको औपचारिक भ्रमण गर्नेछन् । त्यस्तै, ट्रम्पको चीन भ्रमणपछि राष्ट्रपति सिले अमेरिकाको औपचारिक भ्रमण पनि गर्नेछन् । सहमति अनुसार हाल लगाइएको करको दर ५७ प्रतिशतबाट ४७ प्रतिशतमा झारिएको छ । त्यस्तै, दुलर्भ धातु सम्बन्धमा पनि महत्वपूर्ण सम्झौता गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले धेरै महत्पूर्ण सम्झौताहरु गरिएको भन्दै दुई देशबीचको वार्ता सफल भएको टिप्पणी गरेका छन् ।
उता, बुसानमा राष्ट्रपति ट्रम्प र सिबीचमा वार्ता सफल भए लगत्तै चिनियाँ शेयर बजारमा उछाल आएको छ । आज चिनियाँ शेयर बजारमा विगत १० वर्षकै सर्वाधिक बृद्धि भएको छ ।













