आज रातिदेखि बज्नेछ खतराको ‘घण्टी’, शनीबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

१३ कार्तिक २०८२, बिहीबार १२:४२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कात्तिक १५ गते अर्थात शनीबारसम्म देशभर आंशिक वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको भइरहने बताएको छ ।

हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सक्रिय बन्दै गएको छ । साथै पश्चिमी वायूको र अरव सागरमा बनेको न्यून चापीय प्रणाली पनि आंशिक प्रभाव रहेको छ । जसले गर्दा नेपालमा कात्तिक महिनामा उल्लेख्य वर्षा भइरहको र हिमपात भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।

‘मोन्था’ को प्रभाव देशमा आजदेखि पर्दै गएको छ । आजराति देखि देशका पूर्वी नेपालसहित मध्य नेपालमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सरकार र मौसमविदहरुले वर्षाको सम्भावना उच्च रहेका कारण यात्रा गर्दा अर्थात जहाँ, जुनसुकै अवस्थामा भएपनि सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।

विभागका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका बाँकी पहाडी भू–भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहेने छ । बिहीबार कोशी, मधेश, बागमती प्रदेशका धेरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ ।

बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका बाँकी पहाडी–भूभागमा पूर्ण बदली रही तराई भू–भागमा अधिकांश बदली रहने छ । आज राति देशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भवना रहेको छ ।

भोलि कात्तिक १४ गतेका दिन पनि देशका अधिकांश स्थानहरुमा भारी वर्षाकोे सम्भावना रहेको विभागले जनाएको छ । ‘मोन्था’ को कारण देशमा उत्पन्न परिस्थितीबाट देशका हिमाली क्षेत्रमा गएका पर्यटकहरु प्रभावित बनेका छन् । उनीहरुको उद्धारमा सशस्त्र प्रहरी लगायत सरकारी निकायका पदाधिकारीहरु सक्रिय रहेका छन् ।

शुक्रबार देशका विभिन्न स्थानहरुमा मध्यमसहित भारी वर्षाको सम्भावना रहेको छ । भोलि सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्य वर्षाका साथै हिमपात हुने सम्भावना रहेको छ । साथै कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षासहितको हिमपात हुने सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा चाँही सामान्य वर्षा हुने भएको छ ।


शनीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बादल लागेर मौशम आंशिक परिवर्तन हुने मौसम पूर्वानुमान विभागले जनाएको छ । साथै यसदिन गण्डकी प्रदेश, बागमती र कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*