सार्वजनिक ऋण: दायित्व २७ खर्ब २४ अर्ब पुग्यो

काठमाडौं। नेपालको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्षमा निरन्तर बढिरहेको छ। सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबरको ऋण हो। चालु वित्तीय वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा आश्विन मसान्तसम्ममा ५० अर्ब ६० करोड रुपैयाँको वृद्धि भएको हो।
तथ्यांक अनुसार, आश्विन मसान्तसम्म कुल सार्वजनिक ऋणमा ५३ दशमलव ९ प्रतिशत हिस्सा वैदेशिक ऋणमा रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत छ।
चालु आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर आश्विन मसान्तसम्ममा मात्र १ खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको १६ दशमलव ९३ प्रतिशत मात्र हो। यसमा आवाह्य (डोमेस्टिक) ऋण प्राप्तिको प्रगति २४ दशमलव ८६ प्रतिशत छ भने वाह्य ऋणको प्रगति ४ दशमलव ६४ प्रतिशतमा सीमित छ। कुल प्राप्त सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ८९ दशमलव २४ प्रतिशत र वाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। आश्विन मसान्तसम्ममा यसमा १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यसले वार्षिक बजेटको २६.७४ प्रतिशत खर्च भइसकेको संकेत गर्दछ। कुल गार्हस्थ्य उत्पादनको आधारमा ऋण सेवा खर्च १ दशमलव ८० प्रतिशत पुगेको छ।













