कतारका राजाको निमन्त्रणामा राष्ट्रपति पौडेल विश्व सम्मेलनमा सहभागि हुन जाँदै
१४ कार्तिक २०८२, शुक्रबार १६:११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी कार्तिक १८ देखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका छन्। उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीको निमन्त्रणामा दोहामा आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलनमा सहभागी हुनेछन्।
परराष्ट्र सचिव अमृत राईका अनुसार राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने तय भएको छ।
राष्ट्रपति पौडेलको भ्रमण टोलीमा १२ जना सहभागी हुनेछन्। तीमध्ये ६ जनाको खर्च कतार सरकारले बेहोर्ने र बाँकी ६ जनाको खर्च नेपाल सरकारले व्यहोर्ने परराष्ट्र सचिवालयले जनाएको छ।













