बैंकको नाममा ठगी गर्ने डिजिटल गिरोह सक्रिय, सर्वसाधारणलाई झुटा सर्वेक्षण र बोनस लोभले फसाउँदै जालमा

काठमाडौँ । नेपालमा डिजिटल कारोबारको विस्तारसँगै अनलाइन अपराधको रूप र स्वरूप पनि जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रको तीव्र डिजिटल रूपान्तरणले जहाँ सेवाको पहुँच सजिलो बनाएको छ, त्यहीँ आपराधिक गिरोहहरूले पनि नयाँ बाटो खोज्दै बैंकहरूको नाम र प्रतिष्ठाको दुरुपयोग गरी आम नागरिकमाथि आर्थिक ठगी गर्न थालेका छन् । पछिल्लो समय समाजिक सञ्जाल र अनलाइनका विभिन्न माध्यममार्फत बैंकहरूको लोगो, वेबसाइट र नाम हुबहु नक्कल गरी तयार पारिएका नक्कली वेबसाइट तथा लिङ्कमार्फत ठगी गतिविधि तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार बैंकका ग्राहकहरूलाई विभिन्न आश्वासन, पुरस्कार योजना वा सर्वेक्षणको बहानामा व्यक्तिगत विवरण मागी रकम ठगी गर्ने समूहहरू सक्रिय छन् । यी समूहहरूले खासगरी ओटीपी (वन टाइम पासवर्ड), पासवर्ड, पिन वा अन्य संवेदनशील जानकारी झिकाउने उद्देश्यले ग्राहकलाई ‘सर्भे भर्नुहोस्’, ‘दश हजार रुपैयाँ बोनस पाउनुहोस्’ वा ‘लोयल्टी प्रोग्राममा सहभागी बन्नुहोस्’ भन्ने जस्ता झुटा सन्देश पठाउँछन् । यस्ता सन्देशहरूमा दिइएका लिङ्कमा क्लिक गरेपछि ग्राहकको मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत तथा बैंक सम्बन्धी विवरणहरू सोझै ती अपराधीहरूसम्म पुग्ने गर्छ जसको प्रयोग गरी खाताबाट अनधिकृत रूपमा रकम चोरी हुने गरेको छ ।
साइबर ब्युरोले पछिल्लो समय यस्ता गतिविधिहरू तीव्र रूपमा बढ्दै गएको जनाउँदै नागरिकलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार ठगीमा संलग्न समूहहरूले प्रविधि मात्र होइन मनोवैज्ञानिक रणनीति पनि प्रयोग गरिरहेका छन् । उनका अनुसार उनीहरूले बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरू प्रयोग गरेर ठूलो संख्यामा मानिसहरूलाई एकैपटक झुटा सन्देश पठाउँछन् जसले मानिसमा भय सिर्जना गर्छ (जस्तै खातामा समस्या आएको छ, तुरुन्त विवरण अद्यावधिक गर्नुहोस् भन्ने किसिमका सन्देशहरू) यस्ता सन्देश देख्ने धेरै व्यक्ति डरले क्लिक गर्छन् र त्यही क्षण उनीहरूको व्यक्तिगत विवरण अपराधीहरूको हातमा पुग्ने गरेको अवस्थीले बताए ।
बैंकहरूको नाममा यस्तो आपराधिक दुरुपयोग बढ्दै जाँदा बैंकहरू स्वयंले पनि आफ्ना ग्राहकलाई सचेत रहन आह्वान गरेका छन् । विभिन्न वाणिज्य बैंक र विकास बैंकहरूले सार्वजनिक सूचनामार्फत भ्रमबाट सचेत गरन चेतावनी दिएका छन् । बैंकले कहिल्यै पनि ग्राहकसँग फोन, एसएमएस वा इमेलमार्फत ओटीपी वा पासवर्ड नमाग्ने बैंकहरुले जनाइरहेका हुन् । बैंकहरूले यो विषयमा आन्तरिक सुरक्षा संयन्त्रलाई पनि बलियो बनाउने प्रयास गरिरहेको बताएका छन् ।
वाणिज्य बैंक र विकास बैंकहरूको नाम दुरुपयोग भइरहँदा बैंकिङ्क क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक भने मौन रहेको छ । राष्ट्र बैंकले डिजिटल वित्तीय सुरक्षा सुनिश्चित गर्ने अभिभावक संस्थाका रूपमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लागेको छ । विगत केही वर्षमा अनलाइन ठगीका घटनाहरू दर्जनौँको संख्यामा भए पनि तीमध्ये धेरैमा ठोस अनुसन्धान र कानुनी कारबाही भएको देखिँदैन ।
राष्ट्र बैंकको नियामक भूमिकामा प्रश्न उठी रहेका छन् । जब डिजिटल बैंकिङ तर्फ देश तीव्र गतिले अघि बढ्दै छ, त्यसको जोखिम व्यवस्थापनको लागि राष्ट्र बैंकको चाँजोपाँजो कमजोर देखिएको छ । धेरै बैंकले आफ्ना तर्फबाट सूचना र सचेतना कार्यक्रम चलाए पनि ठग समूहहरू सजिलै बैंकको ब्रान्ड र विश्वसनीयताको आड लिएर नागरिकलाई फसाउने काममा सफल भइरहेका छन् ।
यसबीच, राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले भने अनलाइन ठगी नियन्त्रणका लागि संस्था सक्रिय रूपमा कार्यरत रहेको दाबी गरेका छन् । उनका अनुसार डिजिटल वित्तीय कारोबार सुरक्षित राख्न बैंकहरूलाई प्राविधिक र नीतिगत निर्देशनहरू जारी गरिएको छ ।
तर केन्द्रिय बैंकको यी प्रयासहरू पर्याप्त छैनन् । ठगीका घटनाहरू निरन्तर दोहोरिरहेकाले केवल सूचना जारी गरेर समस्या समाधान हुने देखिदैन । साइबर ब्युरोले पछिल्लो आर्थिक वर्षमा मात्रै सयौँ उजुरी प्राप्त गरेको जनाएको छ जसमा बैंक खाताबाट रकम चोरी, मोबाइल बैंकिङ एप ह्याक र नक्कली इन्टरनेट लिंकमार्फत ठगीका घटना सामेल छन् ।
यस्तो प्रवृत्तिले केवल व्यक्तिगत ग्राहकको मात्रै होइन समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ ।अनलाइन ठगीका घटनाहरूको प्रभाव सुदूर गाउँदेखि राजधानीसम्म फैलिएको छ । गाउँमा रहेका व्यक्तिहरू मोबाइलमार्फत बैंक कारोबार गर्न थालेपछि उनीहरू पनि यस्ता आपराधिक सञ्जालको निशानामा पर्न थालेका छन् । धेरैले ‘अनलाइन बोनस’, ‘सर्वेक्षण पुरस्कार’ वा ‘खाता अद्यावधिक नगरे खारेज हुने’ जस्ता सन्देशमा विश्वास गरेर आफ्नो विवरण दिने गरेका छन् ।
पीडितहरूले प्रहरीमा उजुरी दिए पनि रकम फिर्ता पाउन कठिन हुने गरी अवस्थीले बताए। साइबर अपराधमा रकम ट्रयाक गर्न अन्तर्राष्ट्रिय सहयोग लिनु पर्ने भएको हुँदा समय लाग्ने गरेको छ । ठगीका रकम प्रायः विदेशी डिजिटल वालेट वा क्रिप्टो खातामा सारिन्छ जसले अनुसन्धानलाई अझ जटिल बनाउने गरेको छ ।
डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर













