असोजमा नेपाल रि र हिमालयन रिको सबैभन्दा बढी शेयर कारोबार

काठमाडौं । असोज महीनामा सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ ।
नेप्सेले सार्वजनिक गरेको असोज महीनाको तथ्यांकका आधारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
पुनर्बीमा क्षेत्रको अर्को कम्पनी हिमालयन रिइन्स्योरेन्स सर्वाधिक शेयर कारोबारको सूचीमा तेस्रो नम्बरमा छ ।नेप्सेका अनुसार असोजमा हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
असोजमा सर्वाधिक शेयर कारोबार गर्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा युनियन हाइड्रोपावर छ । उक्त कम्पनीको २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । गत महीना सर्वाधिक शेयर कारोबार गर्ने सूचीमा चौथो नम्बरमा शिवम् सिमेन्ट, पाँचौंमा सिईडिबि होल्डिङ्ग्स, छैटौंमा एनआरएन इन्फ्रास्टक्चर, सातौंमा हिमालयन डिष्टिलरी, आठौंमा मुक्तिनाथ विकास बैंक, नवौंमा बुटवल पावर र दशौं नम्बरमा राधी विद्युत कम्पनी छन् ।
असोजमा जम्मा १४ दिने धितोपत्र दोस्रो बजार खुला भएको थियो । यो महीना कुल ६२ अर्ब ६० करोड ७९ लाख रुपैयाँभन्दा बढीको १४ करोड ९ लाख ५० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
भदौको तुलनामा असोजमा कुल कारोबार रकम भने ३५ दशमलव ५६ प्रतिशत घटेको छ । भदौमा ९७ अर्ब १५ करोड ३३ लाख रुपैयाँभन्दा बढीको २३ करोड १६ लाख ६७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।













