उपत्यकाको फोहोर संकट चुलिँदै, मन्त्री घिसिङ पुगे बञ्चरेडाँडा

१६ कार्तिक २०८२, आईतवार १०:५३

काठमाडौँ ।  काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन गम्भीर चुनौती बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडास्थित प्रमुख फोहोर व्यवस्थापन स्थलमा पुगेका छन्। उपत्यकाको सडकदेखि बस्तीसम्म दुर्गन्ध फैलिएको परिस्थितिमा मन्त्री घिसिङले स्थानीय प्रशासन, प्राविधिक टोली तथा जनप्रतिनिधिसँग समस्याको वास्तविक अवस्था बुझ्दै सुधार योजनाबारे छलफल गरेका हुन्।

हाल उपत्यकामा दैनिक एक हजार दुई सय टनभन्दा बढी फोहोर निस्कने गरेको छ। सिसडोल ल्याण्डफिल्ड स्थलको क्षमता कम हुँदै गएपछि बञ्चरेडाँडालाई दीर्घकालीन विकल्पका रूपमा उपयोग गर्न थालिएको हो। तर लामो समयदेखि पूर्वाधार अभाव, वातावरणीय जोखिम तथा सामाजिक असन्तुष्टिका कारण यो स्थल पनि पूर्ण रूपमा प्रभावकारी हुन नसकेको स्थानीयहरूको गुनासो छ।

बञ्चरेडाँडामा फोहोर थुपारिँदा पानीका मुहानहरू प्रदूषित हुने, विविध स्वास्थ्य जोखिम बढ्ने, सडक अवरुद्ध हुने तथा कृषिमा पनि प्रतिकूल असर पर्ने तथ्य स्थानीय बासिन्दाले निरन्तर उठाउँदै आएका छन्। २०७९ भदौमा स्थानीय आन्दोलनका कारण उपत्यकामा फोहोर थुप्रिने अवस्था आएको थियो। एक वर्षअघिको अध्ययनले त्यहाँको माटो र पानीमा प्रदूषण वृद्धि भएको पुष्टि गरेको छ, जसले किसानको उत्पादनमै गिरावट आएको देखाएको छ।

सरकारी तथा स्थानीय तहबीच पहिल्यै १८ बुँदे सहमति भए पनि त्यो कार्यान्वयन नहुँदा समस्या निरन्तर दोहोरिएको स्थानीयको आरोप छ। असोज २०८२ मा भएको छलफलमा पनि ठोस सहमति नजुटेपछि पुनः अवरोध सिर्जना भएको हो। स्थानीयले स्वास्थ्य परीक्षण, क्षतिपूर्ति तथा आधारभूत पूर्वाधार विस्तारका मागलाई समाधान नगरेसम्म सहज व्यवस्था नहुने बताएका छन्।

अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रणालीलाई अनिवार्य रूपमा लागू गर्न, स्थानीयहरूसँग भएका प्रतिवद्धता तत्काल कार्यान्वयन गर्न तथा वातावरणीय क्षति न्यूनिकरणका उपायलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले उपत्यकाको फोहोर समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दृढता समेत व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*