बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, हाइड्रोबाट धम्क्याएर लगेको पाँच करोड हिनामिना

काठमाडौँ । सिन्धुपाल्चोकको मध्यभोटेकोशी हाइड्रोपावरबाट कर्मचारीलाई धम्क्याएर पाँच करोड रुपैयाँ हिनामिना गरिएको उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्रबिसे नगरपालिकामा छापा मारेको छ।
अख्तियारको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा हाइड्रोपावरबाट लगिएको रकम अन्य प्रयोजनमा खर्च भएको र हिनामिनाको प्रमाण फेला परेको जनाएको छ। नगरपालिकाका मेयर बालकृष्ण बस्नेतमाथि पनि छानबिन अघि बढाइएको छ।
उजुरी अनुसार करिब एक वर्षअघि मेयर बस्नेतले हाइड्रोपावरका कर्मचारीलाई दबाब दिएर १० करोड रुपैयाँ मागेका थिए। प्रारम्भिक अनुसन्धानले पाँच करोड रुपैयाँ लगिसकेको र बाँकी रकम लिन हाइड्रोपावरको कार्यालयमा समूह पुगेको पुष्टि गरेको छ।
अख्तियार स्रोतले जनाए अनुसार लगेको रकम खेलकुद पूर्वाधार, शिक्षक तलब र पत्रकारसमेतका नाममा खर्च गरिएको पाइएको छ। पीडितले उजुरी दिएका थिएपछि अख्तियार टोलीले नगरपालिकामा छापा मारेको हो।













