काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा नियुक्त भएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्। उनले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो कदम चाल्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले निगममा भएको नातावाद, कृपावाद र विभेद अन्त्य गर्नुपर्नेमा जोड दिँदै भनिन् कि कर्मचारी आन्दोलनका क्रममा जेनजीहरूले गरेको बलिदानको सम्मान गर्नुपर्ने अवस्थामा पनि आफ्नो मान्छे भर्ति भइरहेको छ। अवकाश पाउने कर्मचारीलाई समेत मनपरी रोकिएको अवस्था स्वीकार्य नभएको उनको भनाइ छ।
उनले निगम भित्रको बेथिति हटाउन कसैको दबाब वा प्रभाव हेर्न नहुने गरी कठोर कदम चाल्न निर्देशन दिएकी छन्। साथै, निगम सुधारका लागि विगतमा बनेका प्रतिवेदन र सुझाबलाई योजनासाथ कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानी भएको विवरण प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्कीले निगमको वर्तमान अवस्था धनाढ्य घर जस्तै देखिए पनि भित्र समस्यापूर्ण रहेको र रोजगारी उपलब्ध गराएको मात्र भएर चित्त बुझाउन नहुने बताइन्।














