बीमा सम्बन्धी चित्रकथा उपलब्ध गराउन प्राधिकरणको अनुरोध
१७ कार्तिक २०८२, सोमबार १२:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चित्रकथा निर्माण प्रयोजनको लागि कथा उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुलाई कथाको विषयबस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन अनुरोध गरेको हो । कथा बढीमा ५ सय शब्दको हुनुपर्ने छ ।
बीमा क्षेत्रको विकास, विस्तार, प्रवद्र्धन तथा पहुँच बृद्धि गर्न चित्रकथा निर्माणका लागि कथा लेखन प्रतियोगिता सञ्चालन गरिएको बीमा प्राधिकरणले जनाएको छ । प्रतिस्पर्धीहरुले कथा तयार गरी तोकीएको इमेल मार्फत पठाउन सक्नेछन् ।
मापदण्ड पुरा भएका १० वटा कथालाई प्राधिकरणले छनौट गर्ने भएको छ । सो बापत प्रतिकथा ८ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिने प्राधिकरणले जनाएको छ ।














