हिमालयन एभरेष्ट इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको नियुक्ती गैर कानुनी ! तमासा हेर्दै प्राधिकरण

१७ कार्तिक २०८२, सोमबार १९:१६

काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकलाई दोहराउदा पनि बीमा प्राधिकरण मौन बसिरहेको पाइएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक बिजय कुमार पन्तको नियुक्ती गैर कानुनी रहेको पाइएको छ । उनी लामो समयदेखि हिमालयन जनरल इन्स्योरेन्सकै स्वतन्त्र सञ्चालक पदमा रहेर काम गरेको, मर्जर पछि पनि सल्लाहकारको भूमिकामा रहेर काम गर्दै आएको व्यक्ति हुन् ।

बीमा ऐनको दफा ४८ मा स्वतन्त्र सञ्चालक एक पटकका लागि मात्रै नियुक्त हुन पाउने व्यवस्था छ । बीमा ऐनको सो दफा मात्रै नभई स्वतन्त्र सञ्चालक सम्बन्धी ऐनको मर्म र भावना विपरित अन्य कानुनी प्रावधानहरुको समेत उल्लंघन गरी नियुक्ती लिई लाभ लिइरहेको पाइएको हो । बीमा ऐनको दफा ४९ मा रहेको योग्यता सम्बन्धी व्यवस्था र दफा ५० को अयोग्यता सम्बन्धी व्यवस्था बमोजिम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा स्वतन्त्र सञ्चालक पन्तको नियुक्ती गैर कानुनी भएको हो ।

बीमा क्षेत्रको नियामक निकाय भएर पनि प्रभावकारी नियमनमा चुकेको प्राधिकरण हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीभित्रको अनैतिक, सुशासन विपरितका कार्यहरु भइरहँदा समेत मौन रहँदै आएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको प्राधिकरण यो गैर कानुनी धन्दामा कानमा तेल हालेर बस्छ कि कारवाही गर्छ त्यो भने हेर्न बाँकी छ ।

कम्पनीका स्वतन्त्र सञ्चालक पन्त सिईओ अञ्जु श्रेष्ठ पनि नातेदार भएको चर्चा कम्पनीभित्र व्याप्त छ । कम्पनीले संचालक विजय पन्तलाई दोहोयाएर हिमालयन एभरेष्टको पनि स्वतन्त्र सञ्चालक बनाइएको भन्दै कम्पनीभित्रै चर्को विरोध भइरहेको छ । गत बर्षको बार्षिक साधारणसभामै शेयरधनीहरुले पन्तको नियुक्ती गैर कानुनी रहेको भन्दै हटाउन माग गरेका थिए ।

एक कार्यकाल पूरा गरेपछि दोहोर्याएर एउटैलाई पुनः स्वतन्त्र सञ्चालक चयन गर्न नमिल्ने व्यवस्था हुँदाहुँदै पनि कम्पनीले अनेक बहाना बनाई पन्तलाई भित्रयाएको भन्दै कम्पनीभित्रै चर्को आलोचना भएको थियो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको दबाब र स्वार्थमा पुनः चयन भएका पन्तको विषयमा साधारणसभामा पनि विवाद भएको थियो । सभामा पन्तको चयनको विषयलाई लिएर प्रतिनिधिहरुले विरोध जनाए पनि अध्यक्ष श्रेष्ठले सो कुरालाई उपेक्षा गर्दै पन्तको बचाउ गरेका थिए ।

कम्पनी स्रोत भन्छ, ‘अध्यक्षज्यूको के स्वार्थ र सम्वन्ध हो ? थाहा भएन । उहाँले पन्तलाई नै दोहोर्याएर ल्याउनुभयो । कम्पनीमा बोर्ड मात्रै नभई सिईओदेखि उच्च तहका कर्मचारीहरु अध्यक्षको आफन्तले नै भरी भएको छ ।’

सो कम्पनीका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यतिसम्मको अनैतिक कार्य त नियामक बीमा प्राधिकरणले हेर्नुपर्ने हो । ध्यान दिनुपर्ने हो ।’ कम्पनीको सबै वित्तीय अवस्था राम्रै रहेको बेला ‘इलिगल’ सञ्चालक राख्नु किन जरुरी थियो ? अनि प्राधिकरण किन आँखा चिम्लिरहेको छ ? कहिलेसम्म यसरी आँखा चिम्लिएर बस्छ त प्राधिकरण ?’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*