स्रोत नखुलेको २३ लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको २३ लाख रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरत प्रसाईं रहेका छन्।
उनीहरूलाई प्रहरीले घाईघाट–कदमाहा सडकखण्डमा नियन्त्रणमा लिएको हो। आइतबार राति सप्तरीको दक्षिण कनमाहाबाट उत्तर गाईघाटतर्फ जाँदै गरेको बा.प्र ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाईलेक्स गाडी रोकेर चेकजाँच गर्ने क्रममा ठूलो राशीको नगद फेला परेपछि पक्राउ परेका हुन्।
उनीहरूको साथबाट १ हजार दरका १ हजार ३९९ थान र ५०० दरका ८०२ थान नोट बरामद भएको छ। साथै टेकोन पम्प १०० थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री १ थान, ई–रिक्सा मोटर ३ थान, स्कूटर ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान र सानो हर्न स्पिकर १ थान पनि फेला परेको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर सप्तरी जिल्ला अदालतबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूर अन्तर्गत ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













