सारडा र राठी ग्रुपको प्रिमियर स्टीलको बजारमा दबदबा, वर्षदिनको व्यापार ४ अर्ब ४१ करोड

काठमाडौँ । सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले वर्षदिनमा झण्डै साढे ४ अर्बको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ४१ करोड १२ लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ७ करोड र सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । ग्राहकहरुको विश्वास जित्दै कम्पनीले उच्च गुणस्तरीय स्टील बिक्री वितरण गर्दा बजारमा माग बढ्दो क्रममा रहेको छ ।
कम्पनी नेपालमा फलाम उत्पादन गर्ने अग्रणी कम्पनीहरूमध्ये एक हो । यसले टीएमटी बारका लागि वार्षिक १,८०,००० मेट्रिक टन र बिलेटका लागि वार्षिक १,२०,००० मेट्रिक टन उत्पादन क्षमता कायम राखेको छ । कम्पनीले उच्च गुणस्तरको उत्पादन, सक्षम व्यवस्थापन र व्यवस्थित वित्तीय संरचनाको बलमा बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।
प्रिमियर स्टील सन् २०१६ असोज १६ मा दर्ता भएको थियो र सन् २०२३ जेठ २३ मा प्रिमियर स्टील लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीको स्थापना शिवरतन शारदा द्वारा गरिएको हो र शारदा समूह तथा राठी समूहको नेतृत्वमा रहेको यस कम्पनीले गुणस्तरीय उत्पादन र दीर्घकालीन व्यापारिक रणनीतिबाट उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएको छ । जुलाई २०२५ को मध्यसम्म वीरेन्द्र राठी र प्रदीप कुमार शारडाको कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्य सेयरधनीहरूको स्वामित्व कायम छ ।













