प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?

१८ कार्तिक २०८२, मंगलवार १४:३३

काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम अझैसम्म पीडितकै नाममा राखेर घटना गुपचुप पार्न खोजिएको छ ।

तत्कालीन कैलाश विकास बैंक हुँदाका बखत २०७५ सालदेखिको सो घटनामा पन्थी डेरीको नाममा ऋण जारी भएको देखाएर शाखा प्रमुख थापा र सिईओ अमृतचरण श्रेष्ठ समेतको मिलेमतोमा कर्जा दुरुपयोग गरिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐनमा ऋणी वा खातावालको रकम दुरुपयोग गर्न नपाइने व्यवस्था छ त्यसरी सेवाग्राहीको नाममा भएको रकम दुरुपयोग गरेमा बैंकिङ कसूरमा कारवाही गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरू बिक्री हुँदा उक्त काण्ड वर्षौदेखि ढिसमिस हुँदै आएको थियो ।

पन्थी डेरीको नाममा एक करोड ७५ लाखबाट शुरु भएको ऋणमा एक करोड ५० लाख रुपैयाँ बैंकका कर्मचारीहरू आफैंले झिकेर रकम चलाएका थिए । सो रकमको सावाँ ब्याज नतिरे सम्पत्ति लिलाम गर्ने भन्दै अहिले चर्को दबाब बैंकले दिइरहेको पीडितले बीमापोष्ट समक्ष गुनासो गरेका छन् ।

प्राप्त तथ्य र प्रमाणहरूमा सो घटनामा बैंकिङ कसूर भएको भन्दै अर्थ मन्त्रालयले छानबिन गरी दोषीमाथि कारवाही गर्न २०७७ साल मंसिर २१ गते च.नं ४०९ नम्वरको पत्रमार्फत निर्देशन दिंदा समेत नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको संलग्नतामा सेटिङ गरेर छानबिन नै नगरेको पत्ता लागेको छ ।

विगतका गभर्नरले छानबिन नगरेको उक्त काण्ड नयाँ गभर्नर डा. विश्व पौडेलको काँधमा आइपरेको छ । अर्थ मन्त्रालयले सिआईबी नै लगाएर छानबिन गर्नु भनेको सो काण्डमाथि तत्कालीन गभर्नर अधिकारीले प्राइम बैंकबाट राम्रै दाम लिएर छानबिन नगरेको बुझिएको छ । प्राइम बैंकभित्र चलेको हल्ला अनुसार उक्त काण्ड छानबिन नगर्दा बैंकका उच्च अधिकारीले ४० लाख रुपैयाँ खर्च गरेका थिए । सो घुस रकम मध्येबाट केही रकम तत्कालीन गभर्नर अधिकारीलाई समेत उपहार प्राप्त भएको स्रोतको दावी छ ।

जम्को प्रकाशन प्रा.लिमा प्रवाह भएको ऋणको धितो कमजोर भएको भन्दै तत्कालीन किष्ट बैंकका सिईओ पक्राउ गर्ने प्रहरीले पन्थी डेरीको नाममा प्रवाह भएको कर्जाको छानबिनका लागि तत्कालीन सिईओ अमृतचरण श्रेष्ठलाई पक्राउ गर्न किन ढिलाई गरिरहेको छ ? बैंक अफ काठमाडौं र किष्ट बैंकको घोटालामा प्रहरीलाई पत्राचार गर्ने राष्ट्र बैंक प्राइम बैंकमा भएको गम्भीर आर्थिक अपराधमा प्रहरीलाई पत्राचार गर्नु भन्ने अर्थ मन्त्रालयको पत्र किन कार्यान्वयन गर्दैन ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*