राताम्य पुँजी बजारः फाइनान्सको शेयरमा भारी गिरावट, किन बढ्न सकेन मार्केट ?

काठमाडौँ। सोमबार एकल अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ। लगातार घट्दो बजारले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। बजार घट्दा लगानीकर्ताले छोटो अवधिमा नाफा लिन खोज्ने प्रवृत्ति बढेको देखिन्छ।
केहि दिन अघि बजारमा निरन्तर सुधार देखिनुका साथै दैनिक कारोबार ९ अर्ब रुपैयाँ भन्दा माथि पुगेको थियो। तर पछिल्ला दुई दिनमा नेप्से परिसूचक घट्दै गएका छन् भने कारोबार पनि सानो हुँदै गएको छ। यसले बजारमा अस्थिरता र सतर्कता थप बढाएको छ।
विशेषज्ञ र लगानीकर्ताहरुले यसलाई माफिया र ठूला लगानीकर्ताको चलखेलको संकेतका रुपमा पनि व्याख्या गरेका छन्। राजनीतिक अस्थिरता अझै कायम रहँदा, तोकिएको समयमा निर्वाचन हुन सक्ने वा नसक्ने अन्यौलले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ।
नेपाल धितोपत्र बोर्डमा पनि निरन्तर भाडभैलो जारी छ। कर्मचारी आन्दोलन र अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागका कारण नियामक निकायको कामकाजमा अवरोध देखिएको छ। यसले शेयर बजारमा लगानीकर्ताको विश्वास र मनोबललाई थप कमजोर बनाएको विशेषज्ञहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अकंले घटेर २५९५.२४ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । फाइनान्सको शेयर मूल्य २.२१ प्रतिशतले घटेको हो । अन्य १२ उपसूचक समेत राताम्य भएका छन् । आज विकास बैंक १.४७ प्रतिशत र जीवन बीमा समूहको १.४४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको ओरालो लागेको छ । ३ कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको देखिन्छ ।
मंगलबारदेखि कारोबारमा आएको मैलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९ रुपैयाँ पुगेको छ ।














