निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ %ले बढ्यो, अग्रस्थानमा सलिको र शिखर, एनएलजीको उच्च ग्रोथ

१८ कार्तिक २०८२, मंगलवार १७:२१

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११.१४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा व्यवसाय ११ प्रतिशतले बढेर १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । साथै गत आर्थिक वर्षको तुलनामा एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योेरेन्सको व्यवसाय सर्वाधिक अंकले बृद्धि भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र द ओरियण्टल इन्स्योरेन्सको व्यवसाय घटेको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले तीन महिनाको अवधिमा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशतले बढेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण

त्यस्तै, शिखर इन्स्योरेन्सको व्यवसाय २३.६२ प्रतिशतले बढेर एक अर्ब ३८ करोड ४६ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.४७ प्रतिशतले बढेर एक अर्ब २२ करोड ४३ लाख रुपैयाँ रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा एक अर्ब १९ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा एनएलजी इन्स्योरेन्सको बीमा व्यवसाय सबैभन्दा बढी अंकले बढेको छ । कम्पनीको बीमा शुल्क आर्ज ३६.३५ प्रतिशतले बढेर एक अर्ब दुई करोड रुपैयाँ पुगेको छ ।

साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०.२४ प्रतिशत, युनाइटेड अजोज इन्स्योरेन्सको २९.८२ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १५.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको १४ प्रतिशत, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ९.९६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५.९५ प्रतिशत र नेको इन्स्योरेन्सको ३.४३ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*