७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सले वर्षदिनमा १० अर्बमाथिको कारोबार गरेको छ । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२४ मा ९ अर्ब २० करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग गरेर राज्यलाई वक्यौता नतिरेको कम्पनीले उल्लेख्य रुपमा व्यापार गर्दै आइरहेको छ । तर, वक्यौता तिर्ने भने कम्पनी आनाकानी गर्दै आइरहेको छ । बेला बेला रिलायन्स स्पिनिङसहित दुई दर्जन भन्दा बढी उद्योगले राजनीतिक संरक्षणमा वक्यौता तिर्नेमा उन्मुक्ति पाउँदै आइरहेका छन् । प्राधिकरणले रकम असुलीका लागि पत्र पठाएपछि मिल्सले २०८२ असोज १० गतेको निर्णय असोज १२ र १३ गते जारी पत्र र सूचना कार्यान्वयन नगर्न माग गर्दै अदालत पुगेको थियो । उच्च अदालत पाटनले समेत रिलायन्स स्पिनिङ मिल्स प्रालीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि सुनसरी जिल्ला अदालतले समेत सो मुद्धामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।
सन् १९९४ मा स्थापना गरिएको रिलायन्स मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । कम्पनीले कपास, पोलिएस्टर, भिस्कोस, एक्रिलिक÷मिश्रित तथा पोलिएस्टर टेक्स्चर्ड धागो उत्पादन गर्दैै आइरहेको छ । कम्पनीका दुईवटा उत्पादन केन्द्रहरू सुनसरी जिल्लाको खानार र दुहबीमा रहेका छन् । सन् २०२५ को भदौ महिनाको मध्यसम्म कम्पनीको वार्षिक कूल स्थापित उत्पादन क्षमता ५० हजार १६३ मेट्रिक टन रहेको छ ।
उद्योगका उत्पादनहरु नेपालभित्रका साथसाथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेको छ । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ । कम्पनीले धागो उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको सञ्चालन अनुभव राखेको छ । कम्पनीले पछिल्ला करिब १२–१५ वर्षदेखि आफ्ना ग्राहकहरूबाट निरन्तर रूपमा अर्डर प्राप्त गर्दै आएको छ । कम्पनीले कूल आम्दानीमध्ये करिब ८० प्रतिशत आम्दानी निर्यात बिक्रीबाट आर्जन गर्दछ जसको मुख्य बजार भारत र टर्की रहेका छन् ।
कम्पनीले गत आवमा युनिट ए उद्योगको ७१ प्रतिशत र युनिट बी उद्योगको ६८ प्रतिशत क्षमता उपयोग गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३५ हजार ३६९ मेट्रिक टन बिक्री परिमाण हासिल गरेको छ, जुन अघिल्लो वर्षको ३२ हजार ६६७ मेट्रिक टनभन्दा बढी हो ।
कम्पनीकाअनुसार गत आवमा औसत प्रतिकेजी धागो २ सय ७२ केजी रुपैयाँमा बिक्री भएको छ । सन् २०२४ मा प्रतिकेजी २ सय ६५ रुपैयाँमा बिक्री गरेको थियो ।
ब्याज खर्च घटेकै कारण कम्पनीको करपछि नाफा मार्जिन (पी.ए.टी. मार्जिन) सन् २०२४ मा ०.५६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा बढेर ४. ६६ प्रतिशत पुगेको छ । कम्पनीको कूल नगद आर्जन (ग्रस क्यास एक्रुअल) सन् २०२४ का ५० करोड रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा ९६ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको समग्र ऋण–पूँजी अनुपात सन् २०२४ को अन्त्यमा रहेको १ दशमलव ३६ गुणाभन्दा सुधार भई १ दशमलव १३ गुणा पुगेको छ ।
भारततर्फ पोलिएस्टर फाइबर निर्यातका लागि आवश्यक बी.आई.एस. प्रमाणिकरण कम्पनीले प्राप्त गरिसकेको छ । साथै भारत सरकारले भिस्कोस फाइबरका लागि पनि बी.आई.एस. प्रमाणिकरण अनिवार्य गर्ने प्रक्रिया अघि बढाइरहेकाले कम्पनी लाभान्वित हुने देखिन्छ । यी दुवै उत्पादनले कम्पनीको कूल सञ्चालन आम्दानीको करिब ७० प्रतिशत हिस्सा ओगट्ने गरेका छन् । कम्पनीले आवश्यक कच्चा पदार्थ चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया तथा थाइल्यान्ड जस्ता देशहरूबाट ऋणपत्र (एल.सी.) मार्फत आयात गर्ने गरेको छ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको जारीकर्ता मूल्याङ्कन ‘केयर–एनपी ए– (इश्यूअर)’ क्रेडिट अनुगमन सूचीमा राखिएको छ । कम्पनीको दीर्घकालीन बैंक सुविधा ३ अर्ब ४५ करोड ७ लाख रुपैयाँमा ‘केयर–एनपी ए–’ र अल्पकालीन बैंक सुविधा ५ अर्ब ५८ करोड रुपैयाँमा ‘केयर–एनपी ए२+’ मूल्याङ्कन कायम गरिएको छ ।
कम्पनीमा गोल्यन समूहका अध्यक्ष पवनकुमार गोल्यन तथा एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल रहेका छन् ।













