बालेन जस्तै अमेरिकाको न्युयोर्क सिटीले पायो ३४ वर्षीय नयाँ मेयर

१९ कार्तिक २०८२, बुधबार १२:१०

काठमाडौं । अमेरिकी राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउँदै ३४ वर्षीय जोह्रान मामदानी न्युयोर्क सिटीका नयाँ मेयर बनेका छन् । यससँगै, काठमाडौँका र्यापर मेयर बालेन शाह जस्तै न्युयोर्कले पनि आफ्नै र्यापरबाट नेतृत्व पाएको छ । मामदानीले अमेरिकी पूर्व गभर्नर एन्ड्रु कुवोमोलाई हराउँदै यो ऐतिहासिक जित हात पारेका हुन् ।

न्युयोर्क राज्यको अस्टोरिया, क्वीन्स क्षेत्रका प्रतिनिधिका रूपमा राजनीतिक यात्रा सुरु गरेका मामदानी डेमोक्रेटिक पार्टी र डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाका सदस्य हुन् । उनी सन् २०२१ देखि न्यूयोर्क स्टेट असेंब्लीका सदस्यका रूपमा सक्रिय थिए ।

कम्पाला (उगान्डा) मा १९९१ मा जन्मिएका मामदानी प्रसिद्ध समाजशास्त्री महमुद मामदानी र चर्चित भारतीय फिल्म निर्माता मीरा नायरका छोरा हुन् । परिवार सात वर्षको उमेरमा अमेरिका आएपछि उनी न्यूयोर्क सहरमै हुर्किए । उनले ब्रोंक्स हाई स्कूल अफ साइन्स र बोवडोइन कलेजबाट अफ्रिकाना स्टडिज विषयमा स्नातक डिग्री हासिल गरेका थिए ।

राजनीतिमा आउनुअघि मामदानीले आवास सल्लाहकारको रूपमा काम गरेका थिए, जसले निम्न आय भएका प्रवासी परिवारलाई घरबास जोगाउन सहयोग पुर्‍याउने गथ्र्यो । यही अनुभवले उनलाई सार्वजनिक नीति र सामाजिक न्यायका मुद्दामा सक्रिय बनाएको मानिन्छ ।

रोचक कुरा के छ भने, मामदानी राजनीतिमा आउनुअघि हिप–हप र्यापर समेत थिए । मामदानीको चुनावी अभियान सस्तो आवास, यातायातमा निःशुल्क बस सेवा, सार्वजनिक बालहेरचाह, सहरकै स्वामित्वमा किराना पसल स्थापना, र न्यूनतम ज्याला ३० डलर गर्ने लक्ष्य मा केन्द्रित थियो । उनी न्युयोर्कका पहिला मुस्लिम, पहिलो भारतीय मूलका र पहिलो मिलेनियल मेयर बनेका छन् ।

उनको जीतले विश्व राजनीतिमा नयाँ सन्देश दिएको छ— सङ्गीत र जनसेवाको संयोजनले पनि परिवर्तन सम्भव छ । काठमाडौँका बालेन शाह जस्तै, न्युयोर्कले पनि अब एउटा र्यापरको नेतृत्वमा सहरको भविष्यको नयाँ धुन सुन्ने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*