तीन महीनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा

२० कार्तिक २०८२, बिहीबार ०७:०२

काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले तीन महीनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यद्यपि बैंकले गत आवको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो जसको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा घटेको हो।

त्यसैगरी बैंकले असोज मसान्तसम्म ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको यसै अवधिसम्म बैंकले ४ अर्ब १४ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस वर्ष बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३२ करोड ८८ लाख रुपैयाँबाट घटेर ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँबाट घटेर २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २९.८३ रुपैयाँबाट घटेर २५.४९ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) १.४२ प्रतिशतबाट घटेर ०.९७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र रिजर्भमा ३२ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको छ। बैंकले ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब ५६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*