शाक्यको हातमा एनआईसी एशियाको नेतृत्व: आजदेखि कार्यभार सम्हाले

काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुजित कुमार शाक्यले औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्ष अवधि रहने गरी सीईओ नियुक्त गरेको थियो। उक्त निर्णयअनुसार उनले आजदेखि (कात्तिक २०) जिम्मेवारी सम्हालेका हुन्।
झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गरेका हुन् ।
सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गर्नु भएका श्री शाक्यज्यूले हिमालयन बैंक लि., तत्कालिन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालिन बैंक अफ एशिया नेपाल लि. र एन आई सी बैंक लि.को मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रमुख कार्यकारी अधिकृत श्री शाक्यज्यूले मर्जरपछि बनेको एन आई सी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालिन सिभिल बैंक लि., तत्कालिन जनता बैंक लि., ग्लोबल आईएमई बैंक लि.मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसक्नुभएका शाक्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंक लि.मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।













