चीनले ईभी उत्पादनमा दिएको अनुदान कटौती गर्नेः त्रसित नेपाली व्यवसायी, नेटाको उत्पादन संकटमा

२० कार्तिक २०८२, बिहीबार १३:१२

काठमाडौँ । चीनले विगत दशकदेखि इलेक्ट्रिक सवारी (ईभी) उत्पादन उद्योगलाई दिदै आएको अनुदान सहुलियत कटौती गर्ने संकेत गरेको छ । अत्यधिक वृद्धि र मूल्य प्रतिस्पर्धाको अभावले घरेलु बजारमा अत्यधिक आपूर्ति भएको बताउँदै चीनले अब अनुदान घटाउने तयारी गरेको हो ।

सरकारले लामो समयसम्म ईभी उद्योगलाई अनुदान सहुलियत प्रदान गर्दै आएको थियो । यसले उत्पादन वृद्धि, प्रविधि र ब्याट्री क्षेत्रमा प्रभुत्व जमाउने र विश्व बजारमा प्रभाव राख्ने अवसर दिएको थियो । तर अब चीनले पाँच वर्षे विकास योजनामा इलेक्ट्रिक वाहनलाई रणनीतिक उद्योगको सूचीबाट हटाएको छ । यस निर्णयपछि उद्योगमा भविष्यको निर्णय बजार प्रतिस्पर्धाले गर्नेछ र सरकारले प्रदान गर्ने अनुदान घट्नेछ ।

विश्व बजारमा इलेक्ट्रिक सवारी उत्पादन र निर्यातमा चीन अग्रणी बनेको अवस्थामा सरकारले उद्योगलाई अझ प्रतिस्पर्धात्मक बनाउन रणनीतिक कदम चाल्ने तयारी गरेको जनाइएको छ । अहिलेसम्म अनुदान कटौतीबारे कुनै अन्तिम निर्णय भने भइसकेको छैन । तर, अनुदान एकैपटक नभई क्रमशः कटौती गर्ने तयारीमा चीन सरकार रहेको आंकलन भइरहेको छ ।

अनुदान कटौती हुँदा स–साना उद्योग भने प्रभावित हुने छन् । जसले गर्दा विश्व अर्थतन्त्रमा नै असर गर्ने देखिएको हो ।

नेपाल चर्किन सक्छ मूल्य, पार्ट्स अभाव

नेपालमा चीनका इलेक्ट्रिक गाडी, भ्यान र साना व्यवसायिक वाहनहरूको निर्भरता पछिल्ला वर्षहरूमा अत्यधिक रहेकाले अब चीनको नीति परिवर्तनले नेपाली अटो बजारलाई प्रत्यक्ष दबाबमा पार्ने संकेत देखिन थालेको छ । चीन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादनकर्ता मात्र होइन नेपालमा बिक्री हुने ईभीमध्ये सबैभन्दा ठूलो हिस्साको पूर्तिकर्ता पनि हो ।

सस्तो मूल्य, सहज सञ्चालन र दिगो प्राविधिक विकासका कारण नेपाली उपभोक्ता, साना व्यवसायी तथा यातायात क्षेत्र चीनका गाडीको प्रमुख प्रयोगकर्ता बनेका छन् । तर चीनले पछिल्लो समय अनुदान घटाउने, उत्पादन पुनःसंरचना गर्ने र निर्यात प्राथमिकता परिवर्तन गर्ने संकेतसँगै नेपालमा मूल्य चर्किन सक्ने तथा स्पेयर पार्ट्स अभाव सिर्जना हुने देखिएको छ ।

अहिले चीनबाट आयातित गाडी सस्तो भएको कारणले नै नेपालजस्तो आयात–निर्भर बजारमा उपभोक्ता सहजै खरीद गर्न सक्षम भएका छन् । तर उत्पादन र अनुदान दुवै संकुचनतर्फ गएका परिस्थितिमा नेपाली उपभोक्तालाई सोही क्षमतामा गाडी किन्न कठिनाइ हुने देखिन्छ । साथै, केही मोडेल बजारबाट हराउने सम्भावना पनि बलियो बनेको छ ।

नेपालमा इलेक्ट्रिक भ्यान र मिनी–कमर्सियल वाहनको माग निरन्तर बढिरहेको छ । पेट्रोल–डिजेलको महँगो सञ्चालन खर्च र वातावरणीय सचेतनाले निजी तथा वाणिज्यिक प्रयोगकर्तालाई ईभी आधारित सवारीतर्फ उन्मुख बनाएको हो । काठमाडौंदेखि बाहिरी सडकसम्म चलेका टेम्पो, स्कूल भ्यानदेखि डेलिभरी सेवा चलाउने व्यवसायीले चीनलाई सहज विकल्पका रूपमा लिएका छन् । तर आपूर्ति संकटकै कारण विकल्प खोजी गर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्नेछ । यो परिस्थितिले भारत, कोरिया, थाइल्यान्ड, जापान तथा युरोपेली कम्पनीलाई नेपाली बजारमा प्रवेश गर्ने अवसर विस्तार गर्न सक्छ । मूल्य केही महँगो भए पनि उपभोक्ताले गुणस्तर र ब्रान्ड उपस्थिति बढ्दा लाभ पाउने छन् ।

चीनको उत्पादन घटेपछि स्पेयर पार्ट्स आपूर्ति पनि संकटमा पर्न संम्भावना रहेको छ । अहिले नेपालमा विद्यमान अधिकांश गाडीका मर्मत–सम्भार, ब्याट्री प्रतिस्थापनदेखि सबै पाटपुर्जा चीनमै निर्भर छन् । यदि मोडेलहरू नै बजारबाट हट्दै गए भने पुराना गाडी मालिकले नियमित मर्मतसम्भारमा ठूला चुनौती भोग्नुपर्नेछ । मूल्य बढ्दै जाँदा पार्ट्सको लागत पनि सँगसँगै चुलिन सक्छ । यसले साना व्यवसाय र दैनिक सञ्चालनमा भर पर्ने उपभोक्तालाई थप आर्थिक बोझ सामना गराउन सक्छ ।

नेटा ईभीको उत्पादनमा संकट

चौधरी ग्रुपले नेपालमा बेच्दै आएको चिनियाँ अटोमेकर होजन अटो अन्तर्गतको नेटा ईभी ब्रान्ड अहिले उत्पादन संकटमा परेको छ । चीनको झेजियाङ कारखानामा नेटा ईभीको उत्पादन रोकिएको र कर्मचारीहरूको तलब कटौती भएको छ भने उद्योग थप संकटमा आइपुगेको छ । यसअघि पनि उत्पादन बन्द हुँदा चीन सरकारले उद्योगलाई अनुदान दिँदै अस्तित्व बचाएको थियो । २०८१ मंसिरमा बन्द भएको नेटा ईभी उत्पादन गर्ने उद्योगले सरकारी अनुदान पाएका कारण केही राहत पाएको थियो । तर अब अनुदान नै कटौती हुने भएपछि नेपालमा बिक्री वितरण भइरहेको नेटाको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ ।

उत्पादन बन्द भएपछि ग्राहकहरूले नेटा ईभीका गाडीका लागि आवश्यक सेवा, पार्ट्स र मर्मतसम्भार प्राप्त गर्न असहजता भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । गाडी सञ्चालनका लागि निरन्तर मर्मत र पाट्र्सको आवश्यकता हुने भएकाले उत्पादन बन्द हुँदा यस्तो सेवा पाउन कठिनाइ हुन्छ । यसले ग्राहकहरूको विश्वासमा ठूलो धक्का पुर्याउने सम्भावना रहेको छ र दीर्घकालीन रूपमा ग्राहक सन्तुष्टि र विश्वास घटाउने देखिएको छ ।

नेटा ईभीको उत्पादन रोकिएपछि उपभोक्ताले गाडीका लागि आवश्यक पाट्र्स र मर्मतसम्भार पाउन कठिनाइ झेल्नु पर्ने देखिन्छ । सेवा केन्द्रहरूको अभाव र पार्ट्स आपूर्तिमा कमीका कारण ग्राहकहरूले समस्याको सामना गर्नुपर्ने सम्भावना छ । यसले ग्राहक अनुभवलाई प्रतिकूल बनाउँछ र नेपाली बजारमा नेटा ईभीको लोकप्रियता घट्ने संकेत गर्छ । यसका प्रत्यक्ष असर कम्पनीको छवि र बजारस्थितिमा लामो समयसम्म रहन सक्छ ।

उत्पादन संकट, अनुदान कटौती र सेवा असुविधाको मिश्रणले नेटा ईभी ब्रान्डको भविष्यप्रति शंका सिर्जना गरेको छ। ग्राहक र आयातकर्ताले पनि अब बजारमा उपलब्ध गाडीको दीर्घकालीन मर्मत र पाट्र्स सुनिश्चित गर्ने विकल्पको खोजी गर्नुपर्ने स्थिति आएको छ । यसले कम्पनीको ब्रान्ड मूल्य, उपभोक्ता विश्वास र बिक्री वितरणमा दीर्घकालीन असर पार्ने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*