घट्यो पुँजी बजारः लगानीकर्ता बिक्री तिर हाबि, किन बढ्न सकेको छैन मार्केट ?

काठमाडौँ। शेयर बजार आज ओरालो लागेको छ। हिजो उतारचढावका बीच बढेको बजार आज भने घटेको हो। बजार घट्दा लगानीकर्तामा निराशा देखिएको छ। थोरै नाफा भएपछि बुक गर्ने प्रवृत्ति देखिएका लगानीकर्ताले बिक्री बढाउँदा बजार ओरालो लागेको विशेषज्ञहरूले बताएका छन्।
विशेषज्ञ र लगानीकर्ताहरूले यसलाई माफिया र ठूला लगानीकर्ताको चलखेलसँग जोडेर पनि व्याख्या गरेका छन्। राजनीतिक अस्थिरता अझै कायम रहँदा तोकिएको समयमा निर्वाचन हुने वा नहुने अनिश्चितताले लगानीकर्तामा जोखिम लिने डर बढाएको छ। यसका कारण लगानीकर्ताको मनोबल अझै उच्च हुन सकेको छैन।
नेपाल धितोपत्र बोर्डमा पनि निरन्तर भाडभैलो जारी छ । कर्मचारी आन्दोलन र अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा मागका कारण नियामक निकायको कामकाजमा अवरोध देखिएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास र मनोबललाई थप कमजोर बनाएको विशेषज्ञहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९९ अकंले घटेर २५९४.४२ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ८ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, फाइनान्स समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।














