बैंकको नाम दुरुपयोग गरी ग्राहकलाई बोनसको प्रलोभनमा ठगी, तीन जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन देखाई बोनस प्राप्त गर्न सर्वे लिंकमा क्लिक गराउने र त्यसपछि पीडितहरूको बैंक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गराई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
विद्युतीय माध्यम सम्बद्ध ठगीका विभिन्न घटनाबारे पीडितहरूले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा काठमाडौं महानगरपालिका–२६, छायाँ कम्प्लेक्स भगवानबहाल ठमेलबाट उनीहरूलाई कात्तिक १८ गते पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली तथा विदेशी नगद, विभिन्न बैंकका एटिएम कार्डहरू, भारतीय नम्बरका सिम कार्डहरू, मोबाइल फोन तथा क्यासिनो कार्ड समेत बरामद गरिएको छ। उनीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, नर्सरी बस्ने ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकान्द्री र भारत बिहार राज्य पूर्वी चम्पारण नागा रोड ११ रक्सौल घर भई हाल काठमाडौं ठमेल बस्ने २६ वर्षीय आदित्य कुमार रहेका छन्।
साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार विद्युतीय माध्यम प्रयोग गरी नागरिकहरूलाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्नविरुद्ध कठोर कारबाही अघि बढाइएको छ। नागरिकहरूलाई यस्ता भ्रामक विज्ञापन तथा लिंकप्रति सचेत रहन समेत अनुरोध गरिएको छ।













