नेपाल एसबिआई बैंकले कमायो ५० करोड १५ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजै प्रकाशित गरेको वित्तीय विवरणले बैंकले चालू आर्थिक वर्ष (आव)को तीन महीनामा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ।
तर बैंकले गत आवको तीन महीनामा कमाएको खुद नाफा ८१ करोड ४६ लाख रुपैयाँको तुलनामा यस वर्ष नाफा ३८.४३ प्रतिशतले खुम्चिएको हो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २९.९० रुपैयाँबाट घटेर १८.४१ रुपैयाँमा झरेको छ।
बैंकले असोज मसान्तसम्म १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जबकी गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो।
त्यसैगरी बैंकको सञ्चालन नाफा १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर ७१ करोड ५७ लाख रुपैयाँमा झरेको छ भने खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँबाट घटेर १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९३.१६ रुपैयाँ रहेको छ। बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब १२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।













