ऋण असुली नहुँदा बैंकिङ क्षेत्रमा चुलिँदै खराब कर्जाः १५ बैंकको एनपीएल बढ्यो, हिमालयनको सबैभन्दा उच्च

काठमाडौँ । १५ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या ल्याउँदा खराब कर्जा चुलिँदै गएको हो ।
चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्याङ्गले यस्तो देखाएको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमासमा औसतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४.८६ प्रतिशत पुगेको छ ।
तीन महिनाको अवधिमा ९ वाणिज्य बैंकको खराब कर्जा कर्जा ५ प्रतिशत भन्दा माथि उक्लिएको छ । केही वर्षयता सुस्त बनेको देशको आर्थिक अवस्थामाथि हालको जेनजी आन्दोलनले थप दबाब सिर्जना गरेको छ । आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, पसल र सवारीसाधनमा भएको तोडफोड र आगजनीका कारण धेरै व्यापारी र उद्यमीहरू आर्थिक क्षतिमा परेका छन्, जसले बैंकहरूप्रति ऋण भुक्तानीमा अवरोध उत्पन्न गराएको छ । असुलीमा समस्या बढेपछि वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ । यो परिस्थितिले निकट भविष्यमासमेत कर्जा असुल नहुने जोखिम बढाएको देखिन्छ । जोखिम व्यवस्थापनका लागि बैंकहरूले थप प्रावधान छुट्याउनुपर्ने भएकाले उनीहरूको नाफा र लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको छ ।
वाणिज्य बैंकहरुको सर्वाधिक खराब कर्जा रहेको बैकमा हिमालयन रहेको छ । पहिलो त्रैमाससम्मको अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको हो । पछिल्लो समय वित्तीय अवस्थामा टाट पल्टिने अवस्थामा आइपुगेको हिमालयन बैंकका शेयरधनीहरु धमाधम कम्पनी छोड्दै आइरहेका छन् ।

सर्वाधिक खराब कर्जा हुने दोस्रो नम्बरमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको खराब कर्जा ४.२४ प्रतिशतबाट ६.९९ प्रतिशत पुगेको छ । बैंकका तत्कालिन सीईओ रोशन न्यौपानेले राजिनामा दिएपछि सन्तोष राठीले नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा भने बैंक अन्य सूचकमा विस्तारै लयमा फर्कि रहेको देखिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा खराब कर्जा क्रमशः कुमारी बैंकको ६.९८ प्रतिशत सिटिजन्स बैंकको ६.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशत, प्राइम बैंकको ५.८६ प्रतिशत, प्रभु बैंकको ५.७८ प्रतिशत, नेपाल बैंकको ५.४९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशत रहेको छ ।
अन्य ११ बैंकको खराब कर्जा भने ५ प्रतिशतभन्दा कम रहेको छ । ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, एनएमबि बैंकको ४.५८ प्रतिशत, नबिल बैंकको ४.३१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशत, सानिमा बैंकको ३.९१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशत, सिद्धार्थ बैंकको ३.८ प्रतिशत रहेको छ ।
खराब कर्जा नेपाल एसबिआई बैंकको ३.०१ प्रतिशत, स्टान्र्डड चार्टड बैंकको १.७१ पूतिशत र एभरेष्ट बैंकको ०.७४ प्रतिशत रहेको छ ।













