गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरेको छ । यसैगरी सभाले आर्थिक वर्ष २०८१–८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. २०८१–८२ को वित्तीय विवरणहरु र संस्थाको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संशोधनको प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२–८३ को लागि लेखापरीक्षक नियुक्ति गर्नुको साथै संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकहरुमा उदयनारायण बराल, मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्यालयलाई नियुक्त समेत गरेको छ । साधारण सभामा सहभागी शेयरधनीहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन ।
कोशी प्रदेश स्तरीय कार्यक्षेत्र रहेको वित्तीय संस्थाले ३६ वटा शाखा कार्यालय मार्फत ग्रामिण क्षेत्रका करिव २४ हजार गरिब तथा मध्यम वर्गीय परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।













