राजनीतिक संगठनको मान्यता खारेज गर्ने मन्त्रालयको निर्णय, पार्टीमा लाग्ने शिक्षकलाई सरकारले बर्खास्त गर्ने

२३ कार्तिक २०८२, आईतवार १६:३८

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामार्फत विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबीच राजनीतिक गतिविधि बढ्दै गएर शैक्षिक वातावरण र गुणस्तरमा नकारात्मक असर परेको गुनासो बढेपछि यस्तो निर्णय लिएको जनाएको छ ।

मन्त्रालयको सूचनामा भनिएको छ, “शिक्षकको पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक क्रियाकलापमा संलग्न भई शैक्षिक गुणस्तरमा ह्रास ल्याउने कार्य भइरहेको पाइएकाले शिक्षक–कर्मचारीका पार्टीगत भातृ संगठनहरूलाई यस मन्त्रालयले मान्यता प्रदान गर्न सक्दैन।”

शिक्षामन्त्री महावीर पुनले राजनीतिक क्रियाकलापमा संलग्न हुने शिक्षक, प्राध्यापक वा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएका छन् । उनका अनुसार, “राजनीतिक संगठनको भाग बन्ने वा पार्टीगत प्रचारमा संलग्न हुने शिक्षकलाई आवश्यक परे पदबाट बर्खास्तसम्मको कारबाही हुन सक्छ।”

मन्त्री पुनले थपे, “कुनै पनि पेसागत ऐनले सेवामा कार्यरत शिक्षक वा कर्मचारीलाई आफ्ना पेसागत हकहित र अधिकारका लागि आवाज उठाउने अधिकार त दिएको छ, तर राजनीतिक सौदाबाजी वा पार्टीगत गतिविधिमा संलग्न हुने छुट भने दिएको छैन।”

मन्त्रालयले शिक्षक–कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघसहितका सबै क्रियाशील संघ–संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक चरित्रका रूपमा पुनर्गठन गर्न कानुनी व्यवस्था मिलाइने पनि उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*