गण्डकीमा बीमा अभिकर्तासँग अन्तरक्रिया: अभिकर्ताको एकता र पुनःस्थापना स्किममा जोड

काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा कात्तिक २१ गते गण्डकी प्रदेशमा अवस्थित जीवन तथा लघुजीवन बीमकका अभिकर्तासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रदेशमा रहेका प्रत्येक जीवन तथा लघुजीवन बीमकबाट एक जना महिला सहित ४० जना अभिकर्ताको सहभागितामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बीमा क्षेत्रका नीतिगत, प्राविधिक र कार्यान्वयन सम्बन्धी विभिन्न विषयमा विस्तृत छलफल गरिएको हो ।कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदान नाथ अधिकारी थिए । सो अवसरमा निप्स पोखरा च्याप्टरका पूर्व अध्यक्ष दिपकराज तिवारी पनि अतिथिको रूपमा उपस्थित थिए ।
कार्यक्रमको प्रस्तुतिकरण नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भुप्रसाद मिश्रले गरेका थिए भने कार्यक्रम सञ्चालन प्राधिकरणका सहायक निर्देशक दिवस पोखरेलले गरेका थिए ।
मन्तव्यका क्रममा नेपाल बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदान नाथ अधिकारीले बिगतमा एक वर्षको मात्र बीमाशुल्क तिरेका तर अहिले धेरै वर्षको बीमाशुल्क र ढिलाइ दस्तुरका कारण बीमा पुनःसक्रिय गर्न नसकेका बीमितका हकमा ‘पुनःस्थापना स्किम’ ल्याउनुपर्नेमा जोड दिए ।
उनीले बिगतमा तिरेको पहिलो किस्तालाई कायम राखी, वर्तमान उमेरका आधारमा बीमाशुल्क निर्धारण गरी, बीचको अवधिलाई ‘साइलन्ट’ मानी दोस्रो किस्ताबाट बीमा पुनःसुरू गर्ने व्यवस्था गर्नुपर्नेमा पनि सुझाव दिएका थिए ।

त्यसैगरी नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले अभिकर्ताहरुलाई एकीकृत भएर आफ्ना हकहितको संरक्षणका लागि पोखरा च्याप्टर खोल्न आग्रह गरे । उनले बजारलाई स्वस्थ र प्रतिस्पर्धी बनाउन अभिकर्ताको भूमिकालाई महत्वपूर्ण बताउँदै अभिकर्ताले असल अभ्यासबाट बीमालेख बिक्री गर्नुपर्छ भन्दै कानुन विपरीत बीमालेख बिक्री गर्ने कार्यमा संलग्न पाइएमा दण्ड सजायको प्रावधान रहेको प्रष्ट पारे ।
कार्यक्रमका अध्यक्ष निर्देशक कमल रेग्मीले अभिकर्तासम्बन्धी निर्देशिका छिट्टै आउने र त्यसले धेरै समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी अभिकर्तामाझ अन्योल रहेको अभिकर्ता लाइसेन्स प्रिन्ट सम्बन्धी जानकारी प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले यस्तो अन्तरक्रिया तथा छलफलले बीमा व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान र व्यावहारिक पक्ष बुझ्न सजिलो भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमको समापन सत्रमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख मिश्रले सबै अभिकर्ताहरुलाई नविकरण प्रकृयामा समयमै सहभागी हुन आह्वान गर्दै बीमा व्यवसायलाई पारदर्शी, विश्वसनीय र ग्राहकमैत्री बनाउन सबै अभिकर्ताले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।













