हिमालयन एभरेष्ट इन्स्योरेन्सको अध्यक्षको घरमा कर्मचारीको भिड कहिलेसम्म ?

काठमाडौं । काठमाडौंको बबरमहलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको भव्य महल रहेको छ । तर, उक्त भव्य महल भएपनि कम्पनीका विभिन्न विभागका कर्मचारीहरु भने अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको घरमा पुगेर विभिन्न फाइलमा हस्ताक्षर गर्न व्यस्त रहने गरेका छन् ।
बीमाको संस्थागत सुशासन विपरित नियुक्त भएका सञ्चालकहरुले कम्पनीबाट गैर कानुनी रुपमा भत्ता लिँदै आएका छन् । सिईओ अञ्जु श्रेष्ठदेखि विभागीय प्रमुखहरु सञ्चालकहरुकै नातेदार भएर पनि निर्वाध रुपमा काम गर्दै आएका छन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीभित्र भइरहेको गलत अभ्यासका सम्बन्धमा बीमापोष्टले जान्न खोज्दा प्राधिकरणका उच्च अधिकारीहरुले समस्या रहेको स्वीकार गर्ने गरेका छन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले भने, ‘हिमालयन एभरेष्ट पारिवारिक रुपमा कम्पनी चलाइदै आएको छ, छानविन गर्ने हो भने धेरै जनामाथि कारवाही हुनसक्छ ।’ तर, बीमा प्राधिकरण आफै नियामक निकाय भएर पनि छानविनको लागि कतैबाट आदेश नआएको भन्दै मौन रहँदै आएको छ ।
कम्पनीभित्रको विभिन्न पदमा कार्यरत कर्मचारीहरु नै अध्यक्ष तथा अन्य सञ्चालकको नातेदार रहेका छन् । उनीहरुले काम गर्न नपाउने भएपनि अध्यक्ष र सिईओको सेटिङमा काम गरेर तलव बुझ्दै आएका छन् ।
एभरेष्ट इन्स्योरेन्स मर्ज भई हिमालयन एभरेष्ट बनेको थियो । मर्जरलाई सफल बनाएसँगै सिईओ विजयबहादुर शाहलाई अध्यक्ष श्रेष्ठले घरमा बोलाएको बेला नआएको भन्दै बर्खास्त गरेका थिए । सिईओ शाहको निष्काशन गैर कानुनी भए पनि शाहले कही कतै उजुरी नहालेकोले अध्यक्ष श्रेष्ठमाथि कुनै कारवाही भएको थिएन । शाह पछि कम्पनीको र्सिओमा अन्जु श्रेष्ठलाई नियुक्ति गरिए पनि उनी अधिकार विहीन अवस्थामा छिन् । सबै कार्यकारी अधिकार अध्यक्ष श्रेष्ठको अनुमतिमा सिईओबाट प्रयोग हुँदै आएको छ । सिइओ अन्जु श्रेष्ठ डमीको रुपमा काम गर्दै आइरहेकी छिन् ।
कम्पनीको सञ्चालक समिति बैठकमा असम्वन्धित व्यक्ति व्यक्तिलाई समेत राख्ने गरिएको सूत्रको दावी छ । उक्त असम्बन्धित व्यक्तिलाई अध्यक्ष श्रेष्ठले किन समावेश गराइरहेका छन् भन्ने पनि स्पष्ट हुन सकेको छैन ।
कम्पनीले दिने हरेक भुक्तानीको चेकमा साइन गर्न कर्मचारीहरु अध्यक्षको घरमा धाउनुपर्ने पीडित कर्मचारीहरुको गुनासो छ । अरु कुनै कागजमा हस्ताक्षर गर्नुपर्यो भने पनि अध्यक्षकै घर धाउनुपर्छ ।
नेपालको प्रचलित कानुन बमोजिम कुनै पनि कर्मचारीहरु अपवाद बाहेक अध्यक्षको घरमा फाइल लिएर धाउनु पर्दैन । तर, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु कहिलेसम्म अध्यक्षको घरमा फाइल बोकेर धाइरहनु पर्ने हो भन्ने प्रश्न अनुत्तरित रहेको छ ।













