महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि

२४ कार्तिक २०८२, सोमबार ०९:१४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि देखिएको हो।

कम्पनीको खुद नाफा गत वर्षको असोज मसान्तसम्म ४ लाख ४९ हजार रुपैयाँ मात्रै रहेकोमा चालू आवको असोज मसान्तसम्म ७ हजार ५७८ प्रतिशतले बढेर ३ करोड ४४ लाख ७७ हजार रुपैयाँमा पुगेको छ। नाफासँगै प्रतिशेयर आम्दानी पनि ०.५६ रुपैयाँबाट ह्वात्तै बढेर ३७.२८ रुपैयाँ कायम भएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ४४ लाख रुपैयाँबाट बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ लाख ४२ हजार रुपैयाँबाट उच्च अंकले बढेर ४ करोड ९२ लाख ५३ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल सञ्चालन आम्दानी पनि ९ करोड २२ लाख रुपैयाँबाट बढेर १२ करोड ६७ लाख रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ २२३.६० रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ८३ लाख रुपैयाँ र रिजर्भ कोषमा ३१ करोड ८८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ५ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*