वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’, इन्टरनेट स्पिडमा चार गुणा फास्ट हुने दाबी

२४ कार्तिक २०८२, सोमबार ११:४३

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको इन्टरनेट प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित विशेष समारोहमार्फत कम्पनीले यस प्रविधिलाई नेपाली उपभोक्तामाझ पहिलो पटक प्रस्तुत गरेको हो।

वर्ल्डलिंकले सिक्सजी प्रविधिलाई भविष्यको इन्टरनेटको रूपमा परिभाषित गर्दै यसले नेपाली उपभोक्ता र व्यवसायिक क्षेत्रका लागि कनेक्टिभिटीको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरेको छ। कम्पनीका अनुसार यो प्रविधिले हाल प्रचलनमा रहेको वाई-फाई फाइभ भन्दा करिब ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट (गति र क्षमताको संयोजन) प्रदान गर्न सक्छ।

यसले प्रयोगकर्तालाई अझ सहज र भरपर्दो कनेक्सन दिने, विभिन्न उपकरण र स्थानमा सन्तुलित सिग्नल वितरण गर्ने र स्मार्ट घर तथा कार्यालयका लागि स्थिर नेटवर्क सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। कम्पनीका प्राविधिक टोलीले पनि यस प्रविधिबाट ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत इन्टरनेट पहुँच सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नवीन प्रविधिको शुभारम्भ कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले कम्पनीले ग्राहक सन्तुष्टि र प्रविधिक नवप्रवर्तनलाई सधैं प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनले भने ‘वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एउटा निर्णायक कदम हो। वर्ल्डलिंकको लक्ष्य प्रविधि र सेवाको माध्यमबाट नेपाली उपभोक्तालाई विश्वस्तरीय डिजिटल अनुभव दिलाउनु हो।’

उनले थपे, ‘वर्ल्डलिंकले पछिल्ला वर्षहरूमा इन्टरनेटको गुणस्तर, पहुँच र नवप्रवर्तनका क्षेत्रमा निरन्तर सुधार गर्दै आएको छ। नयाँ सिक्सजी प्रविधि त्यसै यात्राको अर्को महत्वपूर्ण अध्याय हो, जसले नेपालको डिजिटल यात्रालाई नयाँ गतिमा अगाडि बढाउनेछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*