दिव्यश्वरी हाईड्रोपावरकोको लोभलाग्दो प्रगति, नाफा ६५.५२% ले बढ्यो, कस्तो छन् अन्य सूचक ?

काठमाडौं । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा एक करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले तीन करोड ४९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.८७७ प्रतिशतले मात्रै बढी हो । कम्पनीको प्रत्यक्ष खर्च १५ लाख ७६ हजारबाट बढेर १८ लाख १२ हजार पुगेको छ ।
यस्तै कम्पनीको अन्य सञ्चालन तथा प्रशासनिक खर्च २४ लाख ८१ हजारबाट घटेर २३ लाख ७० हजारमा खुम्चिएको छ । वित्त खर्च पनि १ करोड ४३ लाखबाट घटेर ९८ लाख ८१ हजार रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भ फण्ड २४ करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५३ करोड ८१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस)४.३८ रुपैयाँ , प्रतिशेयर नेटवर्थ ७.७७ रुपैयाँ प्रतिशेयर कुल सम्पत्तिको मूल्य २८१.९६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६४.३८ गुणा ऋणात्मक र तरलता अनुपात ०.२१ प्रतिशत कायम भएको छ ।













