वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्बः ग्लोबल र नबिल अघि हुँदा आक्रामक कृषि विकास, अन्य कुनको कति ?

काठमाडौँ । बैंकहरुले तीन महिनामा ५० अर्ब बढी ब्याज आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले अनुसार २० वटा वाणिज्य बैंकहरुले ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।
बैंकहरुले आर्जन गरेको ब्याज आम्दानी गत आर्थिक वर्ष २०८१।०८२ को तुलनामा ५.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकहरुले ४७ अर्ब ५७ करोड ७६ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
६ बैंकहरुको खुद ब्याज आम्दानी घटेको छ भने १४ बैंकले बढाउन सफल भएका छन् । आर्थिक मन्दि र जेन जी आन्दोलनका बीच पनि बैंकहरुले ब्याज आम्दानी सन्तोषजनक गर्ने सफल भएको देखिन्छ ।
सर्वाधिक ब्याज आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।

ब्याज आम्दानी सर्वाधिक गर्ने नबिल बैंक दोस्रो नम्बर भएपनि गत आर्थिक वर्षको तुलनामा भने घटेको छ । पहिलो त्रैमाससम्मको अवधिमा बैंकको ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेर ३ अर्ब ९० करोढ १२ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा सर्वाधिक ब्याज आम्दानी वृद्धि गर्ने बैंकमा कृषि विकास बैंक रहेको छ । बैंकको खुद ब्याज आम्दानी ५७.०२ प्रतिशतले बढेर २ अर्ब ४० करोढ ३८ लाख रुपैयाँ पुगेको छ ।
तीन महिनाको अवधिका सर्वाधिक ब्याज आम्दानी गर्नेमा क्रमशः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब २४ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ९२ करोड, कुमारी बैंकको २ अर्ब ९१ करोड, प्रभु बैंकको २ अर्ब ८९ करोड, लक्ष्मी सनराइज बैंकको २ अर्ब ७१ करोड, नेपाल बैंकको २ अर्ब ५६ करोड, हिमालयन बैंकको २ अर्ब ५० करोड, एनएमबि बैंकको २ अर्ब ४८ करोड र प्राइम बैंकको २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
यता, एभरेष्ट बैंकको २ अर्ब ४० करोड, एनआईसी एशिया बैंकको २ अर्ब २८ करोड, सिद्धार्थ बैंकको २ अर्ब १६ करोड, स्टान्र्डट चार्टड बैंकको १ अर्ब ९७ करोड, सानिमा बैंकको १ अर्ब ६८ करोड, सिटिजन्स बैंकको १ अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ४५ करोेड र नेपाल एसबिआई बैंकको १ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।













